राज्य व्यवस्था समितिमा अख्तियार प्रमुखको प्रतिवद्धता

‘भ्रष्टाचारमा संलग्‍न जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौं’

नवीनकुमार घिमिरे।

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्‍न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्‍न जोकोहीलाई कारवाहीको दायरामा ल्याउन आयोग प्रतिवद्ध रहेको बताएका हुन्।

बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै घिमिरेले नेपाल आयल निगमको जग्गा खरीद सम्बन्धि भ्रष्टाचारको मुद्दामा आयोगले गम्भीर अनुसन्धान गरिरहेको पनि स्पष्ट पारेका छन्।

घिमिरेले वाइडबडी विमान खरीदका सम्बन्धमा आयोगले छानबिन शुरु गरेको जानकारी समितिलाई गराएका छन्। प्रमुख आयुक्त घिमिरेले संविधानको दायराभित्र रहेर भ्रष्टाचारको छानबिन गर्न आयोग प्रतिवद्ध रहेको बताए।

आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ। प्रमुख आयुक्त घिमिरेले स्थानीय तहलाई अनियमित काम नगर्न सचेत गराए।

उनले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन पनि समितिलाई आग्रह गरेका छन्।

बैठकमा समितिका सदस्यहरुले आयोगको काम कार्वाही पारदर्शी र इमान्दार नदेखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कार्वाही नगरेको भनि प्रश्न गरेका छन्।

समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रतापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै आयोगको आलोचना गरेका छन्। उनले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कारवाही गर्न नसकेको दावी पनि गरे।

समितिका सदस्यहरुले सरकारी निकायहरुमा हुने भ्रष्टाचारमाथि कडा निगरानी राख्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेको गम्भीर ध्यानाकर्षण गराएका थिए।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्