प्रदेश र स्थानीय तहबीच नीतिगत समञ्जस्यता कायम गर्नुपर्छ-शेरधन राई

परिषदको भेलामा मुख्यमन्त्री राईलगायत। तस्बिरः अभयकुमार राई/देश सञ्चार

विराटनगर-प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिहरुले विकास निर्माणको कार्यलाई चुस्तदुरुस्त रुपमा अघि बढाउन सकेमात्रै समृद्ध नेपाल बन्‍ने बताएका छन्।

विराटनगरमा बुधबार आयोजित प्रदेश समन्वय परिषदको पहिलो भेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जनप्रतिनिधिहरुले राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिएका हुन्। राईले भने, ‘जनप्रतिनिधि उत्तरदायी भएर काम गरे समृद्ध र सुखी नेपाल बन्न धेरै समय लाग्ने छैन।’

प्रदेश नम्बर-१ का जनप्रतिनिधिहरु उपस्थित परिषद भेलामा मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत समञ्जस्यता कायम हुनुपर्नेमा जोड दिए। राईले दुवै सरकारले प्राकृतिक स्रोतसाधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। उनले स्थानीय सरकारलाई अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिए।

मुख्यमन्त्री राईले सर्वसाधारणको हित र स्वार्थलाई ध्यानमा राखेर राखेर जनप्रतिनिधिहरुले काम गर्नुपर्ने सुझाएका छन्।

कार्यक्रममा प्रदेश नम्बर–१ का सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचना अनुसार बनेको स्थानीय तह र प्रदेश सरकार बीच समन्वय हुनुपर्नेमा जोड दिए।

परिषद् भेलामा प्रदेशका १४ जिल्लाका १ सय ३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सह–संयोजकहरु सहभागी रहेको छ।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्