च्याम्पियन्स लिग : पिएसजी ६–१ रेड स्टार

नेइमारको कीर्तिमानी गोल, ९ वर्षपछि रोनाल्डोको जस्तै करामत

स्टार खेलाडी नेइमारको कीर्तिमानी गोलको सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा शानदार जित निकालेको छ ।

पहिलो खेलमा लिभरपुलसँग पराजित भएको पिएसजीले समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा रेड स्टार बेलग्राडलाई ६–१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन नेइमारले ह्याट्रिक गरे भने एडिन्सन काभानी, एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । रेड स्टारका लागि मारिनले एक गोल फर्काए ।

पिएसजीले पहिलो हाफमा चार गोल गरेको हो । उसका लागि नेइमारले २० र २२ औँ मिनेट तथा काभानीले ३७ औँ र डी मारियाले ४१ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा ४–० को अग्रता लिएको पिएसजीका लागि ७० औँ मिनेटमा एमबाप्पे अर्को गोल गरे । त्यसको चार मिनेटपछि मारिनले रेड स्टारका लागि एक गोल फर्काए ।

नेइमारले ८१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पिएसजी ६–१ ले विजयी भयो । नेइमारको ह्याट्रिक गोल उनका लागि कीर्तिमानी गोल पनि बन्यो ।

उनी च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गर्ने ब्राजिलियन खेलाडीको कीर्तिमानमा बराबरी गर्न सफल भएका छन् । नेइमारले अहिलेसम्म च्याम्पियन्स लिगमा ३० गोल गरेका छन् र यो काकाले बनाएको कीर्तिमानसँग बराबरी हो ।

नेइमारले यो खेलमा आफ्नो मास्टर क्लास प्रदर्शन गरे । उनले दुईवटा गोल सीधै फ्रि–किकबाट गरेका हुन् । उनी च्याम्पियन्स लिगको एकै खेलमा दुई गोल सीधै फ्रि–किक मार्फत गर्ने पछिल्लो ९ वर्षमा पहिलो खेलाडी हुन् ।

यसअघि सनन् २००९ मा रोनाल्डोले ज्युरिचसँगको खेलमा दुई गोल सीधै फ्रि–किक मार्फत गरेका थिए ।

पिएसजीका लागि शुखद रहेको बुधबारको रात लिभरपुलका लागि भने खराब बन्यो । पहिलो खेलमा पिएसजीलार्य हराएको लिभरपुल समूह सी अन्तर्गत बुधबार राति नै भएको खेलमा अवे मैदानमा इटालियन क्लब नापोलीसँग १–० ले पराजित भयो ।

नापोलीका लागि ९० औँ मिनेटमा लोरेन्जो इसिग्नेले विजयी गोल गरे । चार अंकसहित नापोली समूहको शीर्ष स्थानमा छ । तीनअंकसहित लिभरपुल दोस्रो तथा तीन अंक नै भएको पिएसजी तेस्रो स्थानमा रहेको छ ।

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्