ग्रिजम्यानको दोहोरो गोलमा एथ्लेटिको मड्रिडको महत्वपूर्ण जित

च्याम्पियन्स लिग फुटबलमा यो सिजन स्पेनिस क्लब एथ्लेटिको मड्रिडले राम्रो सुरुवात गरिरहेको छ। समूह चरणमा लगातार उसले दुई खेलमा जित निकालेको छ ।

समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले क्लब ब्रुगेसलाई ३–१ ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोनी ग्रिजम्यानले दुई गोल गरे भने कोकेले एक गोल गरे ।

यस्तै क्लब ब्रुगेसका लागि ड्यान्जुमा ग्रोएनिभेल्डले एक गोल फर्काए । २८ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए । ३९ औँ मिनेटमा ग्रोएनिभेल्डले क्लब ब्रगका लागि गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।

दोस्रो हाफमा एथ्लेटिकोले थप दुई गोल गरेको हो । उसका लागि ६७ औँ मिनेटमा ग्रिजम्यानले गोल गरेर फेरि अग्रता दिलाए । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा कोकेले गोल गरेपछि घरेलु टिम ३–१ ले विजयी भयो ।

समूह ए अन्तर्गतकै अर्को खेलमा बोरुसिया डर्टमुण्डले मोनाकोलाई ३–० ले हरायो । मोनाको पहिलो खेलमा एथ्लेटिकोसँग पराजित भएको थियो । दुई खेलबाट समान ६ अंक जोडेका बोरुसिया र एथ्लेटिको समूहको पहिलो र दोस्रो स्थानमा छन् ।

समूह डी अन्तर्गत बुधबार राति नै भएका खेलमा लोकोमोटिम मस्कोलाई एफसी शाल्केले १–० ले हरायो भने एफसी पोर्टोले गालाटासारेलाई पनि १–० ले नै हराएको छ ।

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्