बलात्कार आरोपमा रोनाल्डोको अर्को स्पष्टिकरण, भने–अनुसन्धानको नजिताको पर्खाईमा छु

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका कारण अहिले रोनाल्डो समस्यामा छन् । तर उनले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
सुरुमा इन्स्टाग्राममा भिडियो लाइभ मार्फत रोनाल्डोले आफूमाथि लागेको आरोप ‘फेक न्युज’ भन्दै खारेज गरेका थिए । ९ वर्षअघिको घटनाका बारेमा फेरि अनुसन्धान सुरु भएपछि रोनाल्डोले आफ्नो विचार फेरि राखेका छन् ।
रोनाल्डोले बुधबार ट्वीट गर्दै आफूमाथि लागेको आरोप पूर्णतः झुट रहेको उल्लेख गरेका हुन् । ३३ वर्षका रोनाल्डोले ट्वीटरमा आफूमाथि लागेको आरोप बारे स्पष्टिकरण दिँदै लेखेका छन्, ‘ममाथि दर्ता भएको वा लगाइएको आरोप म दृढतापूर्वक अस्वीकार गर्छु । बलात्कार घृणित अपराध हो र यो सबैचिजको विरुद्धमा हुन्छ र म यसको विरुद्धमा छु । मेरो नाममा लागेको आरोपको कुरा गर्दा, स्पष्ट रुपमा यो विषयमा सञ्चारमाध्यमलाई गसिपको खुराक दिन चाहन्न, किनकी आफूलाई प्रमोट गर्न चाहनेले सञ्चारमाध्यमलाई कपोलकल्पित खुराक दिएका छन् ।’
रोनाल्डोले दोस्रो ट्वीटमा लेखेका छन्, ‘आरोपका बारेमा मेरो स्पष्ट धारणा छ र शान्तीका साथ अहिले भइरहेका सबै अनुसन्धानको नतिजा पर्खिरहेको छु ।’
अमेरिकामा सन् २००९ मा भएको भनिएको घटना बारे लस भेगास प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ । ३४ वर्षकी पूर्व शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी हुन् । क्याथरिन त्यो बेला मोडल थिइन् ।
लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी छन् ।

लस भेगास प्रहरीले सोमबार घटनाको सम्बन्धमा अनुसन्धान पुनः सुरु भएको जानकारी सोमबार दिएको हो । यस्तै लस भेगास प्रहरीले यो घटनाका सम्बन्धमा सन् २००९ को जुनमा अनुसन्धान गरेको मंगलबार स्पष्ट पारेको थियो । प्रहरीले घटनामा कुनै शंका नदेखिएको पनि बताएको छ । त्यो बेला पीडितले घटनाका सम्बन्धमा केही स्पष्ट जानकारी र प्रमाण नै नदिएको प्रहरीले स्पष्ट पारेको छ।
क्याथरिन र रोनाल्डोबिच पाल्ममा रहेको रेन नाइट क्लबमा भेट भएको थियो । रोनाल्डो बिदा मनाउनका लागि जाँदा त्यहाँ बसेका थिए ।
क्याथरिनले घटनाबारे दाबी गर्दै आफू लुगा बिग्रिन्छ भनेर रोनाल्डोको होटल रुममा रहेको बाथ टपमा बस्न अस्वीकार गरेको र रोनाल्डोले एथ्लेटिक हाफ पाइन्ट तथा टि सर्ट दिएर बाथरुममा चेन्ज गर्न ठाउँ दिएको उल्लेख गरेकी छन् ।
आफूले लुगा फेरिरहेका बेला रोनाल्डो बाथरुममा छिरेको र लिङ्ग देखाउँदै यौन कार्यका लागि आग्रह गरेको क्याथरिनले अदालतमा पेश गरेको कागजातमा उल्लेख गरिएको छ ।

अदालतमा पेश गरिएको कागजात अनुसार क्याथरिनले अस्वीकार गरेको र होटल छोड्न चाहेको तर रोनाल्डोले उनलाई तानेर बिस्तारामा लगेर यौन सम्बन्ध कायम गर्न खोजेको उल्लेख गरिएको छ ।
त्यसपछि उनले आफूलाई रोनाल्डोले बलात्कार गरेको क्याथरिनको दाबी छ । यौन सम्बन्ध कायम गरेपछि रोनाल्डोले माफी माग्दै बेडरुम छोडेको अदालतमा पेश गरेको कागजातमा उल्लेख गरिएको छ ।
I firmly deny the accusations being issued against me. Rape is an abominable crime that goes against everything that I am and believe in. Keen as I may be to clear my name, I refuse to feed the media spectacle created by people seeking to promote themselves at my expense.
— Cristiano Ronaldo (@Cristiano) October 3, 2018
My clear conscious will thereby allow me to await with tranquillity the results of any and all investigations.
— Cristiano Ronaldo (@Cristiano) October 3, 2018
जर्मन म्यागजिन डेर स्पिइगलसँग क्याथरिनले भनेकी छन्, ‘रोनाल्डो ९९ प्रतिशत जेन्टलम्यान हुन्, तर एक प्रतिशतले मलाई निराश पारे ।’
अदालतमा पेश गरिएको कागजातमा रोनाल्डोले क्याथरिनसँग यौन सम्बन्ध कायम भएको तर त्यो सहमतिमा रहेको उल्लेख गरिएको छ ।
क्याथरिनले घटनाबारे त्यो बेला नै प्रहरीमा उजुरी दिएको तर सन् २०१० मा रोनाल्डोसँग तीन लाख ७५ हजार अमेरिकी डलर लिने गरी सहमति गरेकी थिइन् । अहिले आएर उनले फेरि घटनालाई बलात्कारको रुप दिँदै मुद्दा दायर गरेकी हुन् ।
रोनाल्डोका वकिल क्रिष्टियन शेर्ट्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताएका छन् । यो आरोप पछिल्ला वर्षमा व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको रोनाल्डोका वकिलले बताएका छन् ।
रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् । तर क्याथरिनका वकिलले भने उनले मी टू मुभमेन्टबाट प्रभावित भएर अहिले आएर बोल्न सकेको बुधबार पत्रकार सम्मेलन गरेर बताएका छन् ।