फोटो फिचर

जीवितै उद्धारको सम्भावना लगभग सकियो, उद्धार र राहतको पर्खाईमा ग्रामीण क्षेत्र

इन्डोनेसियामा भूकम्प र सुनामीले मच्चाएको त्रासदी (तस्बिरसहित)

शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीका कारण इन्डोनेसियाको जनजीवन प्रभावित भएको छ। अहिलेसम्म भूकम्प तथा सुनामीका कारण ज्यान गुमाएको संख्या १४ सय नाघेको विपद व्यवस्थापन विभागले जनाएको छ ।

गएको शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण पालु शहरमा सबैभन्दा धेरै प्रभाव परेको छ । यस्तै त्यस आसपासका ग्रामीण क्षेत्रमा पनि ठूलो क्षति भएको छ । सुरुमा पालु शहरमा मात्रै राहत तथा उद्धारको काम केन्द्रित हुँदा ग्रामीण क्षेत्रको तथ्यांक आएको थिएन ।

अहिले पनि ग्रामीण क्षेत्रका प्रभावितसम्म राहत सामग्री नपुगेको गुनासो आएको छ । यस्तै विपद व्यवस्थापन विभागले अब भत्किएका संरचनामा पुरिएकाहरुको जीवितै उद्धार गर्न सकिने सम्भावना निकै कम रहेको बताएको छ ।

अहिले पनि उद्धार तथा राहतको काम मुख्य गरी पालु शहर र आसपासमा मात्रै केन्द्रित रहेको भन्दै अन्तका प्रभावित आक्रोशित भएका छन् । संयुक्त राष्ट्रसंघले भूकम्प तथा सुनामीका कारण प्रभावित भएको ठूलो क्षेत्र अझै पनि पहुँच भन्दा बाहिर रहेको भन्दै यसका कारण निम्तन सक्ने खतराप्रति सचेत गराएको छ ।

लगातार गइरहेका ठूला परकम्पका कारण विभिन्न क्षेत्रमा पहिरो गइरहेका छन् । यसले गर्दा धेरै क्षेत्रमा सञ्चार सम्बन्ध टुटेको छ । भूकम्प तथा सुनामीका कारण प्रभावित भएको क्षेत्रमा २४ लाख मानिसको बसोबास रहेकोमा कम्तिमा ७० हजार मानिस सुरक्षित स्थानमा आएका छन् ।

प्रभावित सबै क्षेत्रमा पुग्दा ज्यान गुमाउनेको संख्या अझै उच्च हुन सक्ने आशंका छ । यस्तै कम्तिमा ६१ हजार मानिस घरबार बिहीन भएको बिएनपिबीले उल्लेख गरेको छ । भूकम्प तथा सुनामीमा परी ज्यान गुमाएकाहरुलाई सामूहिक चिहान बनाएर गाडिएको छ ।

तस्बिरहरु : एएफपी, गेट्टी इमेज, द गार्डियन, एपी र रोयटर्स