सेल्फी खिच्ने क्रममा २५९ जनाको मृत्यु, भारतमा सबैभन्दा धेरै घटना

राम्रो सेल्फी लिँदाको खुशी उच्च पक्कै हुन्छ तर राम्रो सेल्फी लिने प्रयासमा ज्यानसम्म गएका घटनाहरु छन् । सन् २०११ यता सेल्फी लिने क्रममा साढे दुई सय भन्दा बढीको ज्यान गएको छ ।

फ्यामिली मेडिसिन एण्ड प्राइमरी केयरमा प्रकाशित भएको अध्ययन अनुसार सन् २०११ देखि २०१७ को नोभेम्बरसम्म विश्वभरमा सेल्फी लिने क्रममा २५९ जनाको ज्यान गएको छ ।

भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेजका अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धान प्रतिवेदन जर्नलमा प्रकाशित भएको हो ।

सेल्फी लिने क्रममा ज्यान गुमाउनेमा धेरै भारतीय रहेका छन् । भारतमा सन् २०११ यता सेल्फी लिने क्रममा ज्यान गुमाउनेको संख्या १५९ रहेको तथ्यांकमा उल्लेख छ । त्यसपछि रुस, अमेरिका र पाकिस्तानमा यस्ता घटना बढी भएका छन् ।

सेल्फी लिने क्रममा जोखिम लिएका कारण ज्यान गुमाउनेमा ७२ प्रतिशत भन्दा बढी ३० वर्ष भन्दा कम उमेरका पुरुष रहेका छन् ।

पुरुषको तुलनामा महिलाले धेरै सेल्फी लिने भए पनि जोखिम लिने सवालमा पुरुष अघि रहेकाले ज्यान गुमाउनेको संख्या पनि उनीहरुकै धेरै भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सेल्फीका कारण हुन सक्ने जोखिम कम गर्नका लागि पहाडका चुचुरा, जलासय तथा नदी क्षेत्र, अग्ला भवनसहितका क्षेत्रलाई ‘नो सेल्फी जोन’ बनाउन सुझाव दिइएको छ ।

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्