सौर्य मण्डल बाहिर पहिलोपटक भेटियो चन्द्रमा

खगोलविदले सौर्य मण्डल बाहिर पहिलोपटक चन्द्रमा पत्तालगाएका छन् । खगोलविदले एक्सोमुन (सौर्य मण्डल बाहिरको चन्द्रमा) फेला पारेका हुन् ।

सौर्य मण्डल बाहिरको ग्यास जाइन्ट ग्रह केप्लर–१६२५ बी को बाहिरी क्षेत्रमा खगोलविदले चन्द्रमा फेला पारेका हुन् र यो सौर्य मण्डल बाहिर फेला पारिएको पहिलो चन्द्रमा हो ।

यो चन्द्रमाले पृथ्वीबाट ८ हजार प्रकाश वर्ष पर केप्लर–१६२५ बी लाई परिक्रमा गर्छ । सौर्य मण्डल भित्रका ग्रहका चन्द्रमाहरु पत्ता लागेका छन् र यसलाई सामान्य पनि मानिन्छ ।

सौर्य मण्डलमा झण्डै २०० प्राकृतिक स्याटेलाइटहरु छन् । खगोलविदहरुले सौर्य मण्डल बाहिर विभिन्न ग्रहहरु लामो समयदेखि पत्ता लगाउँदै आएका थिए । तर अहिलेसम्म चन्द्रमा पत्ता लागेको थिएन ।

सौर्य मण्डल बाहिरका चन्द्रमा निकै पर हुने र आकारमा सानो देखिने भएकाले यकिन गर्न कठिन भएको थियो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको खगोल विज्ञान विभागका सहायक प्राध्यापक तथा अनुसन्धानकर्ता डेविड किपिङ्गका अनुसार सौर्य मण्डल बाहिर चन्द्रमा पत्ता लागेको पहिलोपटक हो ।

उनले भने, ‘यो एक्सोमुन रहेको पक्षमा धेरै प्रमाणहरु जुटेका छन्, अब थप अनुसन्धानको क्रममा स्पष्ट रुपमा प्रमाणित भयो भने यो नै पहिलो एक्सोमुन हुनेछ । यसले ग्रह प्रणालीको विकासका बारेमा थप अनुसन्धान दिनेछ ।’

किपिङ्गले एक्सोमुनको खोजीमा दशक भन्दा बढी समय बिताएका छन् । किपिङ्गसहितको टोलीले गरेको अनुसन्धानको प्रतिवेदन बुधबार साइन्स जर्नलमा प्रकाशित भएको छ ।

अब ४० घण्टासम्मको अवलोकनपछि यो एक्सोमुन रहेको नरहेको बारे स्पष्ट हुने उनले बताएका छन्।

अशोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू