बलिउडका अर्का अभिनेता बिरामी

उपचारका लागि ऋषि कपूर अमेरीका, सोनालीलाई जस्तै समस्या भएको हो?

भारतीय कलाकार ऋषि कपूर उपचारका लागि संयुक्त राज्य अमेरिका गएका छन्। श्रीमती नितु र छोरा रणवीरसँग अमेरिका पुगेका कपूरले स्वास्थ्य उपचारको क्रममा रहेको सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका हुन्।

यो घोषणा गरिरहँदा उनले फ्यान र शुभचिन्तकलाई आफ्नो अवस्थाका बारेमा विभिन्न धारणा नबनाउन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘सबैलाई हेलो, म कामबाट केही दिनको छुट्टिमा छुँ र स्वास्थ्य उपचारको लागि अमेरिका जाँदै छुँ। म मेरो शुभचिन्तकलाई चिन्तित नहुन अनि अनावश्यक टिका टिप्पणी नगर्न अनुरोध गर्दछु। चलचित्र क्षेत्रमा आफ्नो शरीरलाई सजाएको र आँशु बगाएको ४५ वर्ष बढि भयो। तपाईको माया र शुभेक्क्षाले म चाँडै फर्कनेछु।’

ऋषि कपूर अमेरिका गएको दोस्रो दिन उनकी आमाको निधन भएको थियो। उपचारको लागि अमेरिकामा भएकोले उनी आमा कृष्णा राज कपूरको अन्तिम संस्कारमा सहभागी हुन पाएनन्। कृष्णा राज कपूरलाई हृदयघात भएको थियो। ऋषि आमाको अन्तिम संस्कारमा सहभागी नभएपछि उनलाई केही गम्भीर समस्या भएको हो भन्ने बारेमा सबैलाई उत्सुकता जागेको थियो।

तर बलिउड बबलको रिपोर्ट अनुसार उनलाई तेस्रो चरणको क्यान्सर भएको छ। ‘उनी उपचारको लागि अमेरिकामा पुगेका छन्, डाक्टरले उनलाई ४५ दिन उपचार गर्नुपर्ने बताएका छन्, जसमा केमोथेरापी पनि छ। अहिले उनी छोरा रणवीर र श्रीमती नितुसँग छन्। रणवीरलाई आफ्नो सुटिङ्गका लागि फर्कनुपर्ने छ। ऋषिकी छोरी रिदिमा कपूर सहनी आमा बाबासँग रहेनेछिन्।’

ऋषि कपूरले अहिले काम गरिरहेको चलचित्रको सुटिङ्ग रोकिएको छ। ऋषिसँग अभिनेत्री जुहि चावला अभिनय गर्दै छिन्। चलचित्रका निर्माता ऋषिको ठाउँमा अरु कसैलाई राखेर चलचित्रको सुटिङ्गलाई निरन्तरता दिन चाहँदैनन्। उनीहरुले चलचित्रलाई रोकेर राखेका छन्। ऋषिलाई पहिलादेखि नै ढाड दुख्ने समस्या थियो, उनको उपचार भइरहेको छ तर कुन अंगमा क्यान्सर लागेको हो भन्ने बारेमा कुनै पनि जानकारी दिइएको छैन।

ऋषि कपूरको समस्या अभिनेत्री सोनाली बेन्द्रेको समस्यासँग मिल्न सक्ने अनुमान गरिएको छ। सोनाली अहिले संयुक्त राज्य अमेरिकामा उपचार गराइरहेकी छन्।

इरफान

अभिनेता इरफान खान पनि अहिले उपचाररत छन्।

क्यान्सर विरुद्धको अभियानमा संलग्न अभिनेतत्री मनिषा कोइराला । सबै तस्बीरहरु /बर्षा शाह

अभिनेत्री मनिषा कोइरालालाई पनि क्यान्सर भएको थियो। उपचार पछि निको भएर कोइराला उपचारमा फर्किसकेकी छन्। उनी क्यान्सरको बारेमा जनचेतना फैलाउने क्रियाकलापमा पनि सक्रिय छिन्।

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्