प्रदेश-२मा एक महिनापछि संसद बैठक, दुई विधेयक प्रस्तुत

जनकपुरधाम- प्रदेश नं. २ को एक महिनापछि बसेको प्रदेशसभा बैठकमा दुई वटा विधेयक प्रस्तुत भएको छ।

एक महिना दुई दिनपछि बिहिवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री मो. लालबाबु राउतको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विधेयक प्रस्तुत गरेका छन्।

प्रदेशसभा बैठकमा गाउँसभा तथा नगरसभाको कानून निर्माण प्रकृया सम्बन्धी विधेयक २०७५ र सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक २०७५ प्रस्तुत गरिएको छ।

यसरी एक महिनापछि बसेको प्रदेशसभा बैठकमा दुई मात्र विधेयक पेश भएपछि सांसदहरुले असन्तुष्टि जनाएका छन्।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएपनि कानून निर्माण हुन नसक्दा स्थानीय तहको काम कारबाही प्रभावित हुँदै आएकोमा प्रदेश सरकारले गाउँसभा तथा नगरसभाको कानून निर्माणको प्रकृया अगाडी बढाएको हो।

कर्मचारी अभावमा प्रदेश सरकारले काम प्रभावकारी ढंगले अगाडी बढाउन नसकेपछि करारमा कर्मचारी भर्ना सम्बन्धि विधेयक ल्याएको कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

प्रदेशसभाको अर्को बैठक असोज १९ गते बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ।

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्