वनमन्त्री बस्‍नेतसँग अन्तरवार्ता

‘निजगढ विमानस्थल बन्‍ने सुनिश्‍चित नभइ रुख कटान हुँदैन’

‘निजगढ विमानस्थल बन्‍ने सुनिश्‍चित नभइ रुख कटान हुँदैन’

काठमाडौं–रुख कटानको विषयलाई लिएर अहिले निजगढ विमानस्थल चर्चामा छ। डीपीआर नै तयार नभइ रुख काट्न हतार गरिएको र काठको व्यापारमा चासो दिइएका जस्ता विषय चर्चामा छन्। स्थानीयले भने विभिन्न बहानामा विवाद निकालेर विमानस्थल नै त्यहाँ नबनाउने र अन्तै सार्ने खेल भएको पनि शंका गरेका छन्।

खास वनको विषयमा भएको निजगढको विवाद के हो ? देश सञ्‍चारका संवाददाता उजिर कार्कीले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्‍नेतसँग कुराकानी गरेका छन्।

निजगढ विमानस्थलको विवाद वनसँग जोडिएको छ, खास विवाद के हो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेको आवश्यकतालाई यथोचित ढंगले सम्बोधन गर्न सकेको छैन। त्यस अर्थमा हामीलाई अब अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छ। त्यहि भएर सरकारले निजगढ विमानस्थललाई अगाडि बढाउने तयारी गरेको हो। त्यही आधारमा प्रारम्भिक अध्ययनका कामहरु पनि भएका छन्। प्रारम्भिक अध्ययनमा यसका विभिन्न संभावनाहरुको विषयमा उल्लेख पनि गरिएको छ विभिन्‍न पक्षहरुबाट।

वनमन्त्री शक्ति बहादुर बस्‍नेत। तस्बिर- बर्षा शाह/ देश सञ्‍चार

हाम्रो भनाई के हो भने दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सही छ। विमानस्थल निर्माण गर्नुपर्छ। त्यो विमानस्थल निर्माण गर्दा वातावरिणीय दृष्टिले कमभन्दा कम क्षति पुगोस भन्‍ने हाम्रो धारणा हो। केही न केही त हामीले जुनसुकै उपलब्धि हासिल गर्न पनि क्षति व्यहोर्नै पर्छ। क्षति नगरी उपलब्धि हासिल गर्छु भन्‍नु आइडल मात्रै होला, व्यवहारिक नहोला। तर त्यो क्षतिलाई कसरी कमभन्दा कम गर्ने भनेर सोच्नु पर्छ, निजगढको सन्दर्भमा पनि यही हो।

डीपीआर नै तयार नाभइ यति र उति रुख काट्ने भन्‍ने हल्ला हो कि वास्तविकता ?

यी सबै चर्चा मात्रै हुन्। कतिपय प्रचारहरु अतिरन्जना पनि भैरहेको छ। कुनैबेला ८ हजार हेक्टरको प्रसँग पनि उठेको रहेछ तर अहिले ८ हजार हेक्टरका रुख काट्ने प्रसँग कही पनि छैन। एयरपोर्ट निर्माण गर्नका लागि अतिआवश्यक हामीलाई कति हो, त्यो क्षेत्र मध्य पनि वन क्षेत्रले योगदान गर्नु पर्ने कति हो, नम्बर एक।

नम्बर दुई, अरु आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि लिनै पर्ने आवश्यकिय र अति आवश्यकीय वन क्षेत्र कति हो ? हामी त्यो बारेमा छलफल गरिरहेका छौं। अहिले जुन २५ लाख ८ लाखका थरीथरी चर्चा भैरहेका छन् यी बढी चाहिँ सडक हल्लाहरु हुन्।

प्रक्रिया चाहिँ नमिलेको हो ?

जुन डीपीआरको प्रश्न हो। अध्ययन सर्वेक्षणका काम भएका छन्। डीपीआरका काम पनि चलिरहेको भन्‍ने आएको छ। जे होस् वन क्षेत्रका रुखको कटान गर्ने कुरा आइरहेको छ, सम्पूर्ण डीपीआर आइसकेपछि र सबै योजना कार्यन्वयन गर्ने कुराको सुनिश्चितता भैसकेपछि मात्रै रुख कटानको काम सुरु हुन्छ । अहिले भरखरै रुख कटान गर्ने कुरा त कसैले पनि गरिरहेको छैन। बाहिर आइरहेको छलफल के भैरहेको छ भन्ने अर्को कुरा हो तर अहिले नै हामी त्यो अवस्थामा पुगिसकेका छैनौं।

वन तथा वातावरण मन्त्रालय त त्यसप्रति अझ बढी संवेदनशील र जिम्मेवार हुने नै भयो। यो एकदम स्पष्ट हुनु पर्ने कुरा हो, बाहिर जे जस्ता हल्लाहरु भैरहेका छन् बढी पनि भैरहेका छन्। एयरपोर्ट निर्माणका लागि अतिआवश्यकीय मात्रै वन क्षेत्रको प्रयोग हुन्छ र जति प्रयोग हुन्छ त्यो पारदर्शी ढंगबाट हुन्छ। र त्यसको पनि क्षतिपूर्ति गर्ने ढंगबाट वृक्षा रोपनका कामहरु पनि हुन्छन्।

अहिले विभिन्‍न क्षेत्रका व्यक्तिहरुले स्थानीय समुदायले जे चिन्ता जाहेर गर्नु भएको छ। यो सकारात्मक चिन्तनको हामी सम्मान गर्छौं। जुन वातावरणीय रुपमा क्षति हुन्छ कि भनेर चिन्ता जाहेर गरिरहनु भएको छ, म निश्‍चिन्त रहन आग्रह गर्दछु । अनुचित र अनावश्यक किसिमका कुनै पनि गतिविधि हुँदैनन्।

वनमन्त्री शक्ति बहादुर बस्‍नेत। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

हामीले त्यही क्षेत्रका सांसदसँग कुरा गर्दा उहाँले यो वनको विवाद ल्याएर विमानस्थल सार्ने खेल भएको शंका गर्नु भएको थियो, यसमा कतिको सत्यता छ ?

यसमा विभिन्न प्रकृतिका चाहानाहरु होलान्। कतिपयका स्थानीय ‘इन्टेरेस्ट’ पनि होलान्। विमानस्थल आफ्नो क्षेत्रमा बनिदिए हुँन्थ्यो भन्ने पनि होला। त्यसलाई पूर्णरुपमा इन्कार गर्न सकिँदैन तर त्यो हाम्रो मन्त्रालयको आँखाबाट हेर्दा धेरै सरोकारको विषय भएन।

अब कतिपयले तराईमा किन एयरपोर्ट चाहियो भन्‍ने पनि होला, त्यो पनि हाम्रो सरोकारको विषय तत्काललाई भएन। तर समग्र सरकारको हिसाबले भन्‍नु पर्दा विमानस्थल निर्माण गर्ने कुरामा हाम्रो सकरात्मक दृष्टिकोण हुने नै भयो। वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका गम्भीर सरोकारका कुरा पनि छन् त्यसलाई हामीले सम्मान नै गर्छौं।

अब अहिलेका विषय वन र पर्यटन मन्त्रालयसँग उतिकै सरोकार रहने खालका छन्। तपाईहरु दुई मन्त्री मन्त्रालयकोबीचमा यसको समाधानको विषयमा छलफल समन्वय भएको छ कि छैन ?

हाम्रो समन्वय राम्रो भैरहेकाने छ। प्रधानमन्त्री, पर्यटन मन्त्री र म बसेर यस विषयमा छलफल पनि गरेका छौं। हामी सबैको साझा ऐक्यवद्धता के हो भने कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण होस्। अरु सबै तयारीका काम पुरा भैसकेपछि मात्रै रुख काट्ने काम सुरु हुन्छ। त्यो पारदर्शी र प्रभावकारी ढंगबाट हुन्छ। विमानस्थल बन्‍ने सबैकुराको सुनिश्चितता नभई रुख काट्ने काम सुरु हुँदैन।

अशोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू