दसैंले छोएन जनकपुरबासीलाई

चाडपर्वकै मुखमा सडक निर्माण, घर भत्काइयो, व्यापार-व्यवसाय पनि ठप्प

दसैंको मुखमा भत्काइएको जनपुर बजार। दसैंको बेला लाखौंको आम्दानी गर्ने यहाँका कपडा व्यापारीहरुलाई बढी मर्का परेका छन्। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम-दसैं आउन दुई साता मात्रै बाँकी छ। यतिबेला त बजारमा चहलपहल बढ्नु पर्ने थियो। दसैंको किनमेल गर्नेहरु सर्वसाधारणको लहरले माहौल नै बदल्नु पर्ने थियो।

तर, जनकपुरको दृश्य अलि फरक छ। यसपाली दसैं सुरु हुँदा पनि जनकपुरमा व्यापार फस्टाएको छैन। सडक निर्माणले जनकपुरको मूल सडकका घरहरु भत्काउँदा मुख्य पर्व दशैंतिहारकै बेला व्यापार घाटा बढेको गुनासो व्यापारीहरुले गरेका छन्।

जनकपुरधाम उपमहानगरभित्र सञ्चालनमा रहेका करिब १० हजार पसलको व्यवसायमा ८० प्रतिशतले फरक परेको देखिएको छ। दसैंको बेला लाखौंको आम्दानी गर्ने यहाँका कपडा व्यापारीहरुलाई बढी मर्का परेका छन्। तिहारका बेला सुनचाँदी खरिद बिक्री गर्ने जनकपुरको अधिकांश पसल सञ्चालनमा नै छैन।

सडक निर्माण कार्यले घर भत्किँदा करिब एक वर्षदेखि जनकपुरको बजार व्यवसाय घाटा छ। ६ महिनादेखि कतिपय व्यापारीले पसलको ताल्चा समेत खोल्न पाएका छैनन्।

जनकपुरभित्र मूल व्यापारिक क्षेत्र मानिएको भानुचोकदेखि जनकचोक सडकको व्यापार र राममन्दिरदेखि जानकी मन्दिर जाने बाटोमा रहेको सुनचाँदी मार्केट दशैंको बेला पनि सुनसान देखिएको छ।

एसियाली विकास बैंक (एडिबी) परियोजनाले निर्माण गरिरहेको जनकपुरको सडकले सयौंको घर भत्काउनुका साथै व्यापार समेत खोसेको छ। यसले जनकपुरमा अर्बौैंको क्षति हुनुका साथै व्यापारीलाई जनकपुरबाट पलायन हुन समेत बाध्य बनाएको छ।

दशैंतिहारको बेला भरिभराउ देखिने जनकपुर अहिले सुनसान छ। तर, कति घर भत्काइयो र व्यापारमा कति घाटा भएको छ भने वास्तविक तथ्यांक न त जनकपुर उपमहानगरपालिकासँग छ, न त जनकपुर उद्योग वाणिज्य संघसँग नै पूर्ण जानकारी छ।

सडक निर्माणले गर्दा मुख्य सडकमा पर्ने प्रत्येक घरधनीहरुलाई कम्तीमा ७–८ लाख रुपैयाँको बराबरको क्षति भएको अनुमान छ। जनकपुरको मुटु मानिने भानुचोकस्थित मुख्य सडकको सबै घरको अगाडि भाग भत्काइएको छ। तर, वास्तविक तथ्यांक छैन।

मुख्य सडकमै घर भएका स्थानीय भन्छन्, ‘एउटा घर बनाउन वर्षौं लाग्छ, तर यहाँ बनेको घरहरु समेत विकासको नाउँमा भत्काइयो, तर यसको केही लेखाजोखा राखिएको छैन। उनी अगाडी थप्छन्, हाम्रो दंशै यसपाली घर बनाउँदैमा बित्ने भयो।’

कयौं घर भत्किँदा प्रत्येक घरमा पर्ने करिब ५–६ वटा सटरहरु एकै पटक बन्द भएकाले व्यापारीहरु पनि आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन्। यस्तै, जनकपुर उद्योग वाणिज्य संघले करिब ७ सय घर भत्काइएको जनाएको छ।

‘पर्वका बेला व्यापार रित्तो’

मुख्य पर्वकै बेला वर्षभरिको कमाई मात्रै दुई महिनामा हुनेथियो। तर, यसपाली जनकपुरमा व्यापारीको व्यवसाय चौपट भएको छ।

करिब २५ वर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका कमलेश चौधरी भन्छन्, ‘हामीलाई अरु समय व्यापारमा घाटा हुँदा पनि पर्वको बेला सबै ठिक हुन्थ्यो, तर यो वर्षको दशैंतिहार उल्लासमय भएन।’

दशैंको मुखमा आएर यातायात अवरुद्ध हुँदा पसलमा ग्राहक आउन नसकेको भानुचोकमा रेडिमेड लुगा बेच्दै आएका अविनाश झा बताउँछन्। ‘सडक निर्माणले पर्वको बेला समेत पसलमा समान ल्याउन सकेको छैन’, उनले भने।

भानुचोक स्टेशनबाटोमा बुटिक सञ्चालन गर्दै आएकी रीतु अग्रवाल भन्छिन्, ‘सडक अवरुद्धले यसपालीको दशैंतिहार यतिकै जाने भयो, गत वर्ष यतिका बेलासम्म दशैंको बजार सुरु भइसकेको हुन्थ्यो, तर यसपाली केही अतोपतौ छैन,’ उनी भन्छिन्, ‘सामान पसलसम्म आउँदैन, भएभरका सामान लिन आउन ग्राहकलाई सहज पर्ने बाटो पनि छैन।’

यसैबिच, जनकपुरको राजदेवी मन्दिर नजिक ३५ वर्षदेखि कपडाको व्यापार गर्दै आएका अमित पाठकले दशैंको मुखमै पसल अगाडिको बाटो तोडफोड हुनु दुःखद रहेको बताएका छन्। सडक अवरुद्धले मार्केटमा ग्राहक छिर्न नसकेको उनको भनाई छ।

पाठकले व्यापार विकासका लागि ध्यान दिनुपर्ने उद्योग वाणिज्य संघ र नगरविकासका लागि ध्यान दिनुपर्ने उपमहानगरले पनि खासै चासो नदेखाएको र व्यापार संघको ध्यान सस्तो बजारतिर मात्रै केन्द्रित भएकोे बताएका छन्।

दशैं अगावै सुनचाँदीको पसल पुनः सञ्चालनमा आउने योजना रहेपनि दशैं आउन एकसाता मात्रै बाँकी हुँदा प्रक्रिया अगाडि बढेको देखिँदैन।

दशैं बेला प्रत्येक दिन हजारौंको व्यापार हुने सुनचाँदी बजारमा सडक नहुँदा मान्छेको संख्या न्यून रहेको सुन व्यवसायी सन्तोष ठाकुर बताउँछन्।

सस्तो बजारको तयारीमा उद्योग वाणिज्य संघ

दिनहुँ लाखौंको व्यापार घाटा व्यहोरिरहेको जनकपुर बजारमा प्रत्येक वर्ष दशैंको बेला लाग्ने सस्तो बजार यसपाली पनि लाग्ने भएको छ।

जनकपुर उद्योग वाणिज्य संघको पहलमा असोज २४ गतेदेखि सस्तो बजार (दशैं बजार) शुरु हुने संघका अध्यक्ष ललित साहले जनाएका छन्।

नगर क्षेत्रका साथै ग्रामीण भेगका उपभोक्ताहरुलाई सहज हुने दैनिक उपभोग्य सामग्री बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने हिसाबले गत ४२ वर्षदेखि जनकपुरमा दशैं बजार सञ्चालन हुँदै आएको छ।

स्थानीय गोपाल धर्मशालामा लाग्ने सस्तो बजारमा अन्य वर्षहरुको तुलनामा यस पटक बढी स्टल राखिने जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयप्रसाद साहले बताएका छन्।

बजार व्यवस्थापन गर्न धर्मशालाभित्र ५० देखि ६०, बाहिर प्राङ्गणमा ४० देखि ५०, बरण्डामा १० वटा स्टल र धर्मशाला परिसर बाहिर बढी स्टल राख्ने तयारी छ। स्टलहरुमा खासगरी स्थानीय उद्योगबाट उत्पादित वस्तु र घरायसी तथा चाडवाडमा प्रयोग हुने वस्तु राखिने संघको भनाई छ।

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्