जब श‍िल्पाको घरकाे ‘बार टेबल’मा शिर राखेर रोए सलमान

बलिउडभन्दा टाढा तर आफ्नो फिटनेसका कारण चर्चामा रहेकी अभिनेत्री शिल्पा शेट्टीले हालै आफ्नोबारेमा धेरै कुराहरुको खुलासा गरेकी छन् । श‍िल्पाले पहिलो पटक सलमान खानसँगको आफ्नो सम्बन्धका बारेमा सत्य बताएकी छन् ।

शिल्पाले पहिलो पटक यो कहानी सुनाएकी हुन जसको बारेमा समर्थकहरु जानकार छैनन् ।

श‍िल्पा र सलमानले धेरै चलचित्रमा सँगै काम गरेका छन् । सँगै काम गरेका कारण दुवैजनाको प्रेमसम्बन्ध रहेको कुरा पनि चर्चामा आएको थियो । तर यो सबै कुरामा शिल्पाले पहिलो पटक मुख खोलेकी छन् ।

श‍िल्पाले भनिन् ‘म र सलमान राम्रो पारिवारीक साथी हौँ । म कहिल्यै पनि सलमानसँग डेटमा गएकी छैन । सलमान धेरै राम्रो व्यक्ति हुन् । मलाई राम्राेसँग याद छ कि जब सलमान मध्यरातमा मेरो घरमा आउँथे तब उनी मेरो बुवासँग बस्थे । दुवैजना एकसाथ बसेर रमाइलो कुराकानी गर्थे र कहिलेकाँही एकदुई पेग पनि शेयर गर्थे ।’

श‍िल्पाले भनिन्, ‘जब मेराे बुवाको निधन भयो, त्यसपछि एकपटक फेरि सलमान मेरो घर आए र सिधै त्यही टेबलमा गए । र उक्त बार टेबलमा शिर राखेर रुन थाले ।’

उनले भनिन्, ‘धेरै वर्ष बितेका छन् तर आज पनि हामी राम्रो साथी छौँ ।’

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्