माइक्रो बसका चालक र सहचालकलाई फ्लोरोसेन्ट ज्याकेट अनिवार्य

फ्लोरोसेन्ट ज्याकेट।
काठमाडौं – सार्वजनिक माइक्रो बसका चालक र सहचालकले अनिवार्य रुपमा फ्लोरोसेन्ट ज्याकेट लगाउनु पर्ने भएको छ।
ट्राफिक प्रहरी महाशाखामा शुक्रबार सरोकारवालाहरुसँग भएको छलफलमा माइक्रो बसका चालकले सुन्तला रंगको र सहचालकले हरियो रंगको फ्लोरोसेन्ट ज्याकेट लगाउनु पर्ने निर्णय गरिएको हो।
यसअघि, वि.सं. २०७४ साल फागुन २० गते भएको निर्णयलाई निरन्तरता दिँदै आगामी मंसिर १ गतेबाट कडाईका साथ कार्यान्वयन गरिने महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्त, नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित माइक्रो बससँग सम्बन्धित संघ–संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त नियम लागू गरिएको हो।
माइक्रो बसको अगाडि स्पष्ट देख्ने गरी रुट लेख्नुपर्ने नियम लागू गर्ने महाशाखाले जनाएको छ।