राप्तीको तटीय क्षेत्रमा पुगिन् युरोपियन युनियनकी राजदूत केडी

युरोपियन राजदूत केडी। तस्बिरः कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज – युरोपियन युनियनकी राजदूत भेरोडिना केडीले बाँकेको डुडुवा गाउँपालिका अन्तरगत बाढी र डुबानबाट प्रभावित भइरहने क्षेत्रको अवलोकन तथा बाढी पीडितसँग भेटघाट गरेकी छन्।

राप्ती नदीको तटीय क्षेत्र होलिया र आसपासमा केडीले अवलोकन गरेकी छिन्। त्यस क्रममा केडीले गाउँपालिकाले बाढी रोक्न बनाएका योजनाहरु प्रभावकारी रहेको प्रतिक्रिया पनि दिएकी छिन्।

राजदूत केडीले बाढी आउँदा बालबालिका, गर्भवती महिला र जेष्ठ नागरिकलाई कसरी जोगाउने गरिन्थ्यो भनेर जिज्ञाशा राखेकी थिइन्।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका क्षेत्रमा विपद् व्यवस्थापनको अवस्थाका बारेमा जानकारी गराउँदै जिल्लाकै अति प्रभावित क्षेत्र रहेकाले पञ्चवर्षीय योजना निर्माण गरेर अघि बढेको जानकारी दिए।

उनले विपद्बाट जोगाउन नदी कटानको नियन्त्रण, आश्रयस्थल निर्माण, नागरिक पुनर्स्थापना गरिरहेको बताउँदै त्यसका लागि दातृ निकायको ध्यानाकर्षण गराएका थिए।

प्रमुख चौधरीले गाउँपालिकाले गतवर्ष प्रभावित क्षेत्रमा ३ वटा आश्रयस्थल निर्माण गरेको जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा राजदूत केडीले बाढी प्रभावित क्षेत्रको अवलोकन तथा स्थानीयसँग भेटघाट गरेकी हुन्।

कार्यक्रममा रेडक्रस बाँके सभापति गोबर्द्धनसिंह सम्झना, गाउँपालिका उपाध्यक्ष शाहिदा बानोलगायतको उपस्थिति थियो।

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्