नागरिकतासम्बन्धि विधेयकमा छलफल सुरु

‘संविधानले महिलालाई पुरुषभन्दा फरक राखेर हेरिएका कारण जटिलता’

फाइल तस्बिर

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकतासम्बन्धि विधेयकसँग सरोकार राख्नेहरुसँग छलफल सुरु गरेको छ।

शुक्रबार समितिले आमाको नामबाट नागरिकता लिन नसकेका व्यक्तिहरुको समूहसँग छलफल गरेको हो। समितिमा आमाको नामबाट नागरिकता नपाएकाहरुले संविधान र कानूनले दिएको अधिकार पनि नागरिकता प्रदान गर्ने अधिकारीको अपव्याख्याको कारण उपभोग गर्न नपाएको गुनासो गरेका छन्।

समूहको तर्फबाट बोल्दै अधिकारकर्मी दिप्ती गुरुङले नागरिकता प्राप्तिमा धेरै प्रक्रिया अस्पष्ट रहेको बताइन्। भएको व्यवस्थाबाट नागरिकता पाउने अधिकारीले रोकेको बताएकी छन्।

समितिको छलफलमा सहभागी अधिवक्ता मीरा ढुंगाना र पुनदेवी महर्जनले वर्तमान संविधानले महिलालाई पुरुषभन्दा फरक राखेर हेरिएको कारणले थप जटिलता थपेको बताएका छन्। विद्यमान व्यवस्थालाई परिवर्तन नगर्ने हो भने महिला सधैँ दोस्रो दर्जाको नागरिक रहिरहने उनको धारणा थियो।

भर्खरै सकिएको संसदको अधिवेशनमा दर्ता भएर समितिमा छलफलको लागि आएको नागरिकता सम्बन्धि विधेयकलाई सबैतिरबाट महत्व साथ हेरिएको छ।

विधेयकमा सरोकारवालाको कुरा सुनेपछि संवाददाताहरुसँग कुरा गर्दै समिति सभापति शशी श्रेष्ठले नागरिकता नपाएर कोही पनि राज्यविहीन हुनु नपरोस् भन्दै सबै सरोकारवालाको कुरा सुनेर मात्र निर्णय लिने बताएकी छिन्। समितिले नागरिकता सम्बन्धि ऐन त्रुटीरहित र विभेदरहित बनाउन प्रयत्न गर्ने बताएकी छिन्।

नागरिकता सम्बन्धि विवाद संबिधान निर्माणदेखि अहिले कार्यान्वयनको चरणमा आउदा सम्म कायम छ। संविधानको व्यवस्थामा विशेषगरी महिला र मधेसी समुदायको विरोध रहँदै आएको छ। मधेसी समुदायले नागरिकता प्राप्तिका व्यवस्था र प्रक्रिया दुवैमा विभेद भएको भन्दै संशिधान संशोधनको माग राखी आन्दोलन गर्दै आएका छन्।

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्