सातौं म्यूजिक खबर म्यूजिक अवार्ड

पप गायनमा शंकर थापा स्माइल र मञ्जु पौडेल सर्वोत्कृष्ट

सातौं म्यूजिक खबर म्यूजिक अवार्ड समारोह। तस्बिरः अभयकुमार राई/देश सञ्चार

काठमाडौं – गायक शंकर थापा स्माइलले सातौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०१८ अन्तर्गत पुरुषतर्फको सर्वोत्कृष्ट पप गायकको पुरस्कार हात पारेका छन्।

गायक थापाले ‘माया लगाई’ बोलको गीतमा पुरस्कार हात पारेका हुन्। शुक्रबार विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रम अन्तर्गत सर्वोत्कृष्ट गायकको दौडमा गायक थापाले कन्हैया सिंह, गम्भीर केसी, राजेश बर्देवा र उदयराज पौडेललाई पछि पारेका थिए।

त्यसैगरी, गायिकातर्फको सर्वोत्कृष्ट पप गायिकाको पुरस्कार मञ्जु पौडेलले हात पारिन्। पौडेलको ‘दामी छ रेन्त’ गीतलाई पुरस्कारका लागि चयन गरिएको थियो।

यस विधामा गायिका पौडेलले अर्पणा श्रेष्ठ, एञ्जिला रेग्मी, सुशीला पाठक, र सरिता शाहलाई पछि पारेकी थिइन्।

प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगरमा पहिलोपटक आयोजना गरिएको अवार्ड कार्यक्रममा सर्वोत्कृष्ठ राष्ट्रिय भावको गीतमा चुडामणि देवकोटाले पुरस्कार हात पारे।

गायक देवकोटाको ‘मेरो देश सुन्दर छ’ बोलको गीतले एसपी सापकोटा, सुदन डोटेल, नवराजजंग थापा र डिपी खनाललाई पुरस्कार दौडमा उछिनेको थियो।

विभिन्न ३३ विधामा पुरस्कार वितरण गरिएको कार्यक्रममा सर्वोत्कृष्ट लोकदोहरी गायकतर्फ दीपसागर थापाले पुरस्कार प्राप्त गरे।

उनको धादिङ नौबिसे नामक बोलको गीतले बैकुण्ठ महत, प्रकाश सपुत, मेक्सम खाती र रञ्जित परियारको गीतलाई पछि पारेको थियो।

त्यसैगरी, मायालुको साथै रमाइलो गीत गएकी सुनिता दुलाल सर्वोत्कृष्ट लोकदोहरी गायिकाको पुरस्कार हात पार्न सफल भइन्। सर्वोत्कृष्ट लोकदोहरी गायिकातर्फ देवी घर्ती, प्रीती आले, गीता देवी र पूर्णकला बिसी रहेका थिए।

सातौं म्यूजिक खबर म्यूजिक अवार्ड समारोह। तस्बिरः अभयकुमार राई/देश सञ्चार

मोफसलमा पहिलोपटक आयोजित अवार्डले यसअघि काठमाडौंमा सफलतापूर्वक कार्यक्रमको आयोजना गरिसकेको छ।

आयोजक कमिटीका सल्लाहकार समेत रहेका वरिष्ठ कलाकार मोहन निरौलाले विराटनगरसँग आफ्नो पुरानो पहिचान रहेको कार्यक्रममा बताए। उनले यस अवार्डले भविष्यमा थप उचाइ लिनेमा विश्वस्त रहेको पनि बताएका छन्।

वि.सं. २०६९ सालदेखि जारी यस अवार्ड कार्यक्रम मोफसलको पूर्व क्षेत्रमा पहिलोपटक आयोजना गरिएपनि आउँदो दिनमा अन्य प्रदेशमा समेत कार्यक्रम आयोजना हुने बताइएको छ।

अवार्डका क्रममा लाइफटाइम एचिभमेन्ट, दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान लगायतका पुरस्कारपनि प्रदान गरिएको थियो।

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्