संसद र सरकारबीचको टकराव सतहमा

मूल्य वृद्धिविरुद्ध बोल्ने सांसदलाई कारबाही गर्न आपूर्तिमन्त्री यादवको पत्र

मातृका यादव।

काठमाडौं-चिनीको मूल्यविरुद्ध संसद र समितिमा आवाज उठाउने सांसदलाई कारबाही गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सभामुख कृष्णबहादुर महरालाई पत्र लेखेका छन् ।

व्यापारीसँगको साँठगाँठामा सरकारले चिनी आयातामा रोक लगाएपछि बजारमा सुरु भएको कालो बजारीको विरुद्ध बोल्ने सांसदलाई नै कारबाही गर्न माग गर्दै मन्त्री यादवले पत्र पठाएका हुन् ।

असोज १५ गते सार्वजनिक लेखा समितिले वाणिज्य र आपूर्ति सचिव एवं उपभोक्ता संरक्षण विभागका प्रमुखलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा सांसदहरुले एक अर्ब ६९ करोडको चिनीको मूल्य बढाउन चलखेल भएको बताएका थिए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सभामुख कृष्णबहादुर महरालाई शुक्रबार पठाएको पत्र ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकमा समेत चिनीको मूल्य वृद्धिको आलोचना भएको थियो र सांसदहरुले सरकार सीमित व्यापारीको प्रलोभनमा परेको बताउँदै आएका थिए । मन्त्री यादवले आफूहरुमाथि आरोप लगाएको भन्दै मूल्यवृद्धि विरुद्ध बोल्ने सांसदलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

संभवत नेपालको संसदीय इतिहासमै सांसदले बोलेका विषयलाई लिएर मन्त्रीले कारबाहीको माग गर्दै औपचारिक पत्र नै पठाएको यो पहिलोपटक हो ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री यादवले लेखा समितिको निर्णयको आलोचन गरे । चिनीमा घोटला भएको भन्दै लेखा समितिले हृदेश त्रिपाठीको संयोजकत्वमा उपसमिति बनाएर छानबिन सुरु गरेपछि मन्त्री यादव असन्तुष्ट बनाका हुन् ।

शुक्रबार दिउँसो उपसमितिको बैठक बसिरहेका बेला मन्त्री यादवले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरिरहेका थिए । उनले प्रधानमन्त्रीकै निर्णयअनुसार चिनीको आयात रोकिएको बताए ।

समितिको १५ गते बसेको बैठकले ले सरकार र व्यापारीबीच सहमति भएको ६३ रुपैयाँमा नै चिनीको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन र बजारको प्रभावकारी अनुगन गर्न निर्देशन दिएको थियो।

लेखा समितिले छानबिन अघि बढाएसँगै मूल्यवृद्धि विरुद्ध बोल्ने सांसदलाई नै कारबाही गर्न मन्त्रीले औपचारिक पत्र पठाएपछि संसदीय समिति र सरकारबीचको टकराव सतहमा आएको छ।

अशोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू