दसैंको बेला जनकपुरमा बजार अनुगमन, खाद्यान्‍नमा किरा भेटियो

जनकपुरधाम- दसैं तिहार तथा छठ पर्वको बेला बजारमा कालाबाजारी तथा महगी बढेको जन गुनासोको बढेपछि जनकपुर बजारमा अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहको संयोजकत्वमा गएको अनुगमन टोलीले बजारको अनुगमन गरेका छन्।

अनुगमनको क्रममा गुनस्तरहीन तथा अन्तिम म्याद नाघेको सामग्रीहरु फेला परेको छ भने खाद्यान्‍न सामग्रीमा किरा समेत भेटिएको छ।

जिल्ला प्रसाशन धनुषाबाट निस्केको टोलीले जनकपुरधाम स्थित अभिशा पाउँरोटी उद्योगमा म्याद नभएको तथा अन्तिम म्याद नाघि सकेको पाउँरोटीहरु फेला पारेको छ।

यता, जेनरल स्टोर्समा पनि किरा भएको सामग्रीहरु फेला पर्दा अब नियमित रुपमा अनुगमन हुने प्रशासकीय अधिकृत दिनेश साहले बताएका छन्।

यस्तै टोलीले अनुगमनको क्रममा जनकपुरमा रहेको होटलहरुको सरसफाईमा ध्यान नदिई आम नागरिकहरुको स्वास्थ्यसँग खेलवाड भइरहेको पाईएको बताएका छन।

अनुगमनको क्रममा अनुगमन भएको पसलहरुमध्ये केहीले लाइसेन्स समेत नलिएको खुलेको छ।

अनुगमन टोलीमा जनकपुर उद्योग वाणिज्य संघ, गुनस्तर तथा नापतोल कार्यालय जनकपुरधाम, उपभोक्ता मंचलगायतका संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्