यौन दुर्व्यवहार र #MeToo अभियान

बलिवुडसँगै भारतीय सञ्चार जगतमा भित्रियो #MeToo

विशेष गरी महिलामाथि हुँदै आएको यौन उत्पीडन तथा यौन हिंसा विरुद्ध हलिवुडबाट सुरु भएको अभियान ह्यासट्याग मि टू, बलिवुड तथा भारतीय सञ्चार जगतमा पनि प्रवेश गरेको छ ।

सन् २०१७ को अक्टोबरमा ह्यासट्याग मि टू का साथ विभिन्न व्यक्तिले आफूमाथि भएको यौन हिंसाका बारेमा बोल्न थालेका थिए । लगत्तै यसले ठूलो अभियानको रुप लियो र सबैभन्दा बढी प्रभाव हलिवुडमा परेको देखियो ।

यहि अभियानका कारण हलिवुडका चलचित्र महारथी हार्बी वाइन्स्टिनसहितका धेरै अदालतको कठघरामा पुगे । हलिवुडसँगै अरु क्षेत्रका महिलाले पनि मि टू अभियानको प्रभाव पर्दै गयो र खेलसहित सञ्चार तथा अरु क्षेत्रमा पनि यसको पकड देखियो ।

द गार्डियनका अनुसार टेराना बर्क नाम गरेकी अमेरिकी सामाजिक कार्यकर्ताले सन् २००६ मा मि टू शब्दावलीको प्रयोग गरेकी थिइन् । तर सन् २०१७ मा अमेरिकी अभिनेत्री अलिसा मिलानोले ट्वीटरमा यसलाई प्रयोग गरेपछि बढी चर्चामा आयो ।

अब विश्वको ठूलो चलचित्र उद्योग मध्ये एक बलिवुड तथा भारतीय सञ्चार क्षेत्रमा पनि मि टू अभियानले तीव्रता पाएको छ । हप्ता दिनअघि मि टू अभियान औपचारिक रुपमा बलिवुड प्रवेश गरेको हो ।

अभिनेत्री तनुश्री दत्ताले बलिवुडका सम्मानित अभिनेता नाना पाटेकर, निर्देशक विवेक अग्निहोत्री तथा कोरियोग्राफर गणेश आचार्यसहितले आफूमाथि यौन दुर्व्यहार गरेको बताएकी थिइन् ।

१० वर्षअघि सन् २००८ मा चलचित्रको छायाँकनको क्रममा आफूमाथि यौन हिंसा भएको तनुश्रीले बताएपछि बलिवुडमा विभाजित प्रतिक्रिया आयो । तनुश्री बोलेपछि अरु महिलाले पनि आफूमाथि भएका यौन हिंसा र दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् ।

यहि क्रममा भारतीय सञ्चार जगतका महिलाहरुले आफूमाथि भएका यौन हिंसाका बारेमा बोल्न थालेका छन् । यसरी बोल्नेमा भारतका प्रतिष्ठित मिडिया हाउसमा काम गर्ने महिलाहरु रहेका छन् । यसलाई भारतमा ह्यासट्याग मि टू अभियानको सुरुवातको रुपमा हेरिएको छ ।

महिलाहरुले आफूमाथि कार्यस्थलमा भएको यौन दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् र त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।

उनीहरुले आफूमाथि भएको दुर्व्यवहार र त्यसमा संलग्न व्यक्तिको नाम पनि सार्वजनिक गर्न थालेका छन् । उनीहरुले दुर्व्यहार गर्ने व्यक्तिसँगको च्याटको स्क्रिन सट पनि सेयर गरिरहेका छन् ।

एक महिलाले बिहीबार ट्वीट गरेर कमेडियन उत्सव चक्रवर्तीमाथि यौन दुर्व्यहारको आरोप लगाइन् । त्यसपछि अरु महिलाले पनि आफ्नो अनुभव सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् ।

यसरी आफ्नो विगत सार्वजनिक गर्नेमा पत्रकार सन्ध्या मेनन पनि छन् । उनले ट्वीट गरेर के. आर. श्रीनिवासनमाथि यौन दुर्व्यहारको आरोप लगाएकी छन् । घटना सन् २००८ को रहेको उनले उल्लेख गरेकी छन् । टाइम्स अफ इन्डियाको हैदरावादमा रेजिडेन्ट एडिटर रहेका श्रीनिवासनले यसमा प्रतिक्रिया दिँदै यससम्बन्धमा जाँच सुरु गरेको बताएका छन् ।

भारतीय सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंहले महिला पत्रकारसँगै अरुले आफूमाथि भएको यौन उत्पीडनका बारेमा बोल्न थालेकोमा स्वागत गरेकी छन् ।

केही समयअघि हफिङ्गटन पोस्टका अनुराग वर्मामाथि केही महिलाले आपत्तिजनक म्यासेज पठाएको आरोप लगाएका थिए । अनुरागले ट्वीट मार्फत माफी माग्दै सबै म्यासेज मजाकका लागि मात्रै रहेको बताए । हफिङ्टन पोस्टले अनुराग र उत्सव चक्रवर्तीमाथि धेरै महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको र घटनाको आलोचना गर्यो ।

यस्तै पछिल्लो समय हिन्दुस्तान टाइम्सका पत्रकार प्रशान्त झामाथि पनि यौन दुर्व्यहारको आरोप लागेको छ । हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार झामाथि सोही पत्रिकाकी पूर्व महिला पत्रकारले यौन दुर्व्यहारको आरोप लगाएकी हुन् ।

सामाजिक सञ्जालमा प्रयोग भएको मि टू अहिले यौन हिंसा विरुद्धको ठूलो अभियान बनेको छ र यो बलिवुडसँगै भारतीय सञ्चार जगतमा भित्रिएको छ ।

 

– विभिन्न भारतीय सञ्चार माध्यमको सहयोगमा