अब महिलाले आफैँ गर्नेछन् आफ्नो सुरक्षा

यसरी सुरु भयो १७ सय महिलालाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण (फोटो फिचर)

धनगढीमा आयोजना गरिएको आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रमका सहभागी। तस्बिरः दिनेश ठकुल्ला/देश सञ्चार

धनगढी – महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणका लागि धनगढीमा आत्मरक्षा सम्बन्धी शिविर सुरु भएको छ।

महिलामाथि हुने घरेलु हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरण गर्नका लागि उक्त शिविरले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला, बालिका तथा युवतीमाथि एकपछि अर्को बलात्कार तथा हिंसा हुन थालेपछि राष्ट्रिय गोजुरियो कराते दो संघ र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आत्मरक्षा सम्बन्धी शिविर प्रारम्भ भएको हो।

कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने? पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने? संवेदनशील अंग समात्यो भने कसरी छुटाउने? कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने? जस्ता तरिका पनि तालिममा सिकाइने बताइएको छ।

शिविरमा विभिन्न विद्यालयका छात्रा, सरकारी तथा गैर–सरकारी संघसस्थाका महिला कर्मचारीलगायत एक हजार सात सय महिला तथा युवतीको सहभागिता रहेको शिविर सात दिनसम्म सञ्चालन हुनेछ।

शनिबार आयोपजत एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिविरको उद्घाटन गरेका छन्।

सो अवसरमा मुख्यमन्त्री भट्टले महिला तथा युवतीमाथि हुने हिंसा न्यूनिकरण, आत्मविश्वासी बनाउनका लागि शिविरले सहयोग पुर्याउने बताए।

उनले सुदूरपश्चिम प्रदेशका कुरीति, कुसंस्कारका कारण महिला हिंसा बढिरहेको बताउँदै त्यसको न्यूनिकरणका लागि प्रदेश सरकारले विशेष अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

धनगढीमा मात्रै नभई प्रदेशका सबै जिल्लामा आत्मरक्षा सम्बन्धी शिविर सञ्चालनका प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री भट्टले जानकारी दिए।

वडा तहमा वडाअध्यक्ष, नगर तथा गाउपालिकामा नगरप्रमुख तथा अध्यक्ष, निर्वाचन क्षेत्रमा सांसद तथा प्रदेशमा आफूले नेतृत्व गरेर महिला हिंसा न्यूनिकरणसम्बन्धि अभियान सञ्चालन गरिने मुख्यमन्त्री भट्टको भनाई थियो।

कार्यक्रममा विशिष्ट अतिथि रहेका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले महिला हिसा न्यूनिकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।  

महिला तथा युवतीलाई आफनो सुरक्षा आफैँ गर्न सक्ने बनाउनका लागि प्रदेशभरि आत्मरक्षा सम्बन्धि शिविर आवश्यकता रहको भन्दै मन्त्री सोडारीले त्यसका लागि तयारी भइरहेको जनाएका छन्।

प्रदेश सांसद दुर्गा बिक र धनगढी उपमहानगरकी उपप्रमुख सुशीला मिश्रले शिविरले महिलालाई मात्रै नभएर प्रदेशलाई नै सुरक्षित राख्न सहयोग पुग्ने बताएकी छिन्।

शिविरमा एक हजार महिला तथा बालिकालाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने आयोजकले लक्ष्य लिएको थियो। तर, तालिममा सहभागी हुनका लागि १ हजार ७ सय महिलाले फाराम भरेका कारण सबैलाई तालिम दिन थालिएको हो।

सहभागीबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्ने राष्ट्रिय गोजुरियो कराते दो संघका महासचिव प्रकाश चन्दले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशबाट सुरु गरिने महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको छ। शिविर निःशुल्क रुपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

असोज २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्