जसले सबैलाई कलाकार बनाउँछ

चित्रकला मार्फत कुण्ठित जीवन बुझाउने पाँच कोठा

नेपाल आर्ट काउन्सिलको दोस्रो तलाका हरेक कोठा रंगिएका छन्, सजिएका छन्। कुनै जीवनको निर्दोष रङ्गले त कुनै जीवनको कुण्ठाको छायाँले। भर्‍याङ्गको सिधा अगाडिको कोठामा छिर्ने बित्तिकै भित्ता धेरै थरीका रङ्गले पोतिएका छन्।

कोठाको एक छेउमा रङ्गिन मार्करको टोकरी छ, धेरैओटा चित्र बनेका छन् तर कुनै पनि एक अर्कासँग नमिल्ने। यिनीहरुको प्रस्ट आकृति पनि छैन। भित्तामा बिना रोकटोक, बिना नियममा बनेका यी कलालाई हामीले भित्ता फोहोर गरेको नाम दिन्छौँ, तर यहाँ भने बालपनको स्मरण र आभास दिलाउनको लागि यो चित्र बनाउन लगाइएको हो।

हजूर, यो कोठामा भएका चित्रहरु कुनै प्रोफेशनल चित्रकारले बनाएको हैन, नेपाल आर्ट आउन्सिलको दोस्रो तलामा कला प्रदर्शनी हेर्न आउने अवलोकनकर्ताले बनाएका हुन्। यहाँ आउने जो कोहीलाई पनि यो चित्र बनाउने छुट छ।

वेक नामक संस्थाले आइतबारदेखि शुक्रबारसम्म नेपाल आर्ट काउन्सिलको दोस्रो तलामा चित्रकला प्रर्दशनी गरिरहेको छ। साथै नाटक प्रदर्शन पनि । शनिबार साँझ त्‍यही चित्रकलाको उद्घाटन गरेर प्रदर्शनको औपचारिक सुरुवात गरिएको हो।

जम्मा ६ वटा कोठामा प्रर्दशनी राखिएको छ। यहाँका हरेक कोठामा देखाइएका कलाले चलायमान मानव जीवनको विभिन्‍न रङ्गहरुमा उतारिदिएको छ। पहिलो कोठामा देखिएका चित्रहरुले बालकालिकाले आफ्नो भावना प्रस्फुटन गर्ने तरिकालाई देखाइएको छ।

यसैगरी दोस्रो कोठामा हामी स्कूलमा लेख्‍ने परीक्षा पत्ररु टाँसिएका छन् जसमा एउटा प्रश्‍नको उस्तै उत्तर लेखिएका कापीले बालबालिकाको सिर्जनशीलतालाई कसरी नियन्त्रणमा राख्छ भन्‍ने चित्र देखाउन खोजिएको आयोजक तथा कलाकार आनन्द शुभमले बताए।

त्यसपछिको अर्को कोठामा अलिकति सम्हाललिएका हातले बनाइएका तस्बिर छन् जसले किशोर अवस्थामा प्रस्तुत हुने सिर्जनशीलताको व्याख्या गर्न खोजेको छ। त्‍यस्तै चौथौँ कोठा सादा रङ्गले पोतिएको छ भने हाम्रो दैनिकीमा काम नलाग्‍ने भनिएका सामानलाई सजाएर राखिएको छ।  यसबारेमा आयोजक सदस्य भूषिता वशिष्टले भनिन्, ‘यो पूँजीवादको हावाले छोएको जीवनको अवस्था हो, जहाँ मानिसको सिर्जनशीलता भन्दा पनि आम्दानी महत्वपूर्ण भइदिन्छ।’

यसपछि मानिस निराश हुन्छ र कुण्ठिन्त हुन्छ। विकल्पको बाटो देख्दैन र आत्महत्या गर्छ। आत्महत्यापछि मानिस पुग्‍ने शमशान पाचौँ कोठा हो। जहाँ मानिसले प्राण त्याग गरेर चिन्तन मनन गर्छ। यी पाँच जीवनको अवस्था बुझेको मानिसले पुन जन्म पाउँछ र छैठौँ कोठामा पुग्छ।

‘यो कोठा भनेको स्वछन्द जीवनको कोठा हो, यहाँ मानिसले आफूलाई बिना रोकटोक, बिना डर-करले प्रस्फुटन हुन्छ।’ आनन्द सुभमले देश सञ्‍चारसँग कुरा गर्दै भने, ‘यहाँ हेर्न आउँने हरेक दर्शकले आफूभित्र लुकेको कलालाई यहाँ प्रस्फुटन गर्ने छन्। हामी नाटक पनि देखाउँछौ, दर्शकलाई पनि नजिकबाट दृश्‍यालोकन गर्ने अवसर प्रदान गर्छौ।’

असोज २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्