‘दुर्गमका हामी भाग्यमानी’

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जिताएको चरागाउँ, जसले जन्मायो धेरै हस्तीहरु

पोखरा – लमजुङको दुर्गम गाउँ हो चरागाउँ। क्वोलासोंथर गाउँपालिका–७ मा पर्ने यो गाउँ साविकको घाम्राङ गाविसमा पर्थ्यो। सोही चरागाउँका बासिन्दाले शनिबार पोखरामा कार्यक्रम गरी आफूहरु भाग्यमानी भएको बताएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएकाले उनीहरुले आफूलाई भाग्यमानी ठानेका हुन्। मुख्यमन्त्री पत्नि एवं क्वोलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङको माइती गाउँ हो चरागाउँ।

त्यहाँबाट पोखरा बसाई आएका क्रोम्छें भार्इ खलक परिवारले शनिबार आयोजना गरेको चेलीबेटी तथा इस्टमित्र भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीयले यस्तो धारणा राखेका हुन्।

गुरुङ जातिले दसैंको पूर्वसन्ध्यामा छोरी, ज्वार्इ, भाञ्जा भाञ्जी लगायतलाई एकै ठाउँमा भेला गराएर शुभकामना आदानप्रदान गर्ने चलन छ।
यस्तै कार्यक्रम ल्होसारमा पनि हुन्छ। ल्होसारको कार्यक्रम भने दसैँकोभन्दा भव्य हुने उनीहरु बताउँछन्।

चरगाउँबाट पोखरा बसाइ आएका नरबहादुर गुरुङले स्वागतमै भने, ‘हाम्रो छोरी गाउँपालिका उपाध्यक्ष, ज्वार्इ मुख्यमन्त्री, हामीलाई गौरव छ, हामी पछाडी परेका छौं, हाम्रो उत्थान तपाईले गर्नैपर्छ।’ लमजुङ चरागाउँका क्रोम्छें परिवारका ४४ घर पोखरामा बसाइँ आएका छन्।

परिवारका अध्यक्ष नौबहादुर गुरुङले मुख्यमन्त्री र गाउँपालिका उपाध्यक्ष दुवै जना त्यसै यहाँसम्म नआएको बताएका छन्। ‘उहाँहरुले धेरै उकालो ओरोलो पार गर्नुपर्यो, कहिले खोलामा बग्नुपर्यो, कहिले ठक्कर खानुपर्यो,’ नौबहादुर भावुक बने।

जनताले यो स्थानमा पुर्याएको भन्दै नौबहादुरले जनतालाई पनि अब अहिले भन्दा उच्च स्थानमा पुर्याउन आग्रह गरे। ‘छोरा छोरी कहीँ पुग्यो भने बाबुआमालाई आशा हुन्छ, बाबुआमा कहीँ पुगे छोराछोरीलाई आशा हुन्छ,’ गुरुङले सांकेतिक रुपमा आफूहरुको अभिलाशा व्यक्त गरे।

कार्यक्रममा क्वोलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङ गाउँका बुबाआमा, दिदीबहिनी, सबैलाई एकै ठाउँमा पहिलो पटक भेट्न पाएकोमा दंग थिइन्। ‘गुरुङको चलनचल्ती अनुसार माइती खान पहिलो पटक आएँ,’ उनले भनिन्, ‘कर्मथलोमै बस्नुपर्यो, सानोमा पनि मामाघरमा बसेँ। आज माइतीको माया अनुभव गरेको छु।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले इष्टमित्र सबैको घरमा पुगेको अनुभव गरेको सुनाए। ‘पहिले पहिले सबैलाई घर–घरमा बोलाउने चलन थियो,’ उनले थपे, ‘अहिले एकै ठाउँमा सबैलाई भेट्न पाउँदा घरघरै पुगेजस्तो लाग्यो।’

चरागाउँका क्रोम्छें परिवारको कार्यक्रमपछि मुख्यमन्त्री गुरुङ आफ्नै जन्मभूमि लमजुङको टक्सारका गाउँलेले आयोजना गरेको कार्यक्रममा पुगे।

लमजुङ पाँचगाउँ टक्सार समाजले पनि सोही प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो। त्यहाँ केही समय बिताएका गुरुङले भने, ‘चाडपर्वमा कुनै झैझगडा नहोस्, आपसमा खुशियाली साटासाट होस्। दसैंको शुभकामना!’

कार्यक्रममा समाजका उपाध्यक्ष शिरसुब्बा गुरुङ, सचिव रतनसिंह गुरुङ, सहसचिव गजबहादुर गुरुङ, सल्लाहकार नारायणसिंह गुरुङ लगायतले बोलेका थिए।

दसैँ गुरुङको चाड थिएनः मुख्यमन्त्री

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विस १५०० सम्म दसैँ गुरुङ जातिले नमनाएको दाबी गरेका छन्। ‘दसैं गुरुङको चाड थिएन, लमजुङ दरबारमा घले राजा र शाह राजाबीच सम्झौता भएपछि मनाउन थाले,’ उनले भने।

गुरुङले २ राजाबीच सम्झौता भएपछि शाहहरुको शासन चलेको र शाह राजाले गुरुङ जातिलाई साविककै रुपममा जल, जमीन, जंगल लगायत प्रयोग गर्न दिएर कर उठाउन थालेको बताएका छन्।

शाह राजाले मान्ने चाड गुरुङले मनाउँछन् कि मनाउँदैनन् भनेर त्यति बेला राजाका मान्छे घर घरमा अनुगमनमा जानेगरेको उनले दाबी गरे।

‘गुरुङले दसैँ मानेको प्रमाण दिन रगतको छाप घरको भित्तामा लगाउनुपर्थ्यो,’ उनले भने, ‘त्यही कारण विक्रम् संवत १५५१ तिरदेखि गुरुङले पनि दसैँ मनाउन थाले।’

असोज २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्