अन्ततः ब्रेट काभानोग बने अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश

ट्रम्पका लागि ठूलो राजनीतिक जित, यौन हिंसाको आरोप लगाउने महिलाको उडाए मजाक

अमेरिकी राजनीति र सर्वसाधारणसम्म स्पष्ट रुपमा विभाजित धारण उत्पन्न भएको सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया टुंगिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित गरेका काभानोगको पक्षमा सिनेटले मतदान गरेको छ, यसको अर्थ काभानोग अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश भएका छन् र यो पद अब उनको जीवनका लागिका लागि हो ।

अमेरिकी सिनेटमा शनिबार भएको मतदानमा काभानोगको मनोनयन अनुमोदनको पक्षमा दुई मत बढी परेको हो । उनको पक्षमा ५० तथा विपक्षमा ४८ मत परेको थियो ।

काभानोगमाथि विभिन्न महिलाले यौन हिंसाको आरोप लगाएपछि अमेरिकामा बिस्तृत रुपमा विभाजन देखिएको थियो उनको नियुक्तिको प्रक्रियालाई लिएर ।

किशोरावस्थामा भएको भनिएको यौन हिंसाका बारेमा महिलाहरुले बोलेपछि सिनेटको न्यायीक समितिले दुवै पक्षसँग घटनाबारे बुझेको थियो । अन्तिम समयमा आएर संघीय जाँच आयोग (एफबिआई) घटनाको छानबिनमा सामेल भयो ।

एफबिआईले गरेको अनुसन्धानको प्रतिवेदन सिनेटलाई दिइएको थियो । रिपब्लिकन सिनेटरका अनुसार एफबिआईको छानबिनमा काभानोग दोषी देखिएका छैनन् । त्यसपछि काभानोगको नियुक्ति प्रक्रियाका लागि मतदानमा जाने निर्णय भएको हो ।

मतदानमा केही डेमोक्र्याटिकसहित पहिले विपक्षमा उभिएका महत्वपूर्ण रिपब्लिकन सिनेटरले पनि पक्षमा उभिने निर्णय गरेपछि काभानोग सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको थियो ।

काभानोगको पक्ष बलियो बन्दै गएका बेला अमेरिकी सर्वोच्च अदालत अगाडि धेरै महिला अधिकारकर्मीले प्रदर्शन पनि गरेका थिए ।

तर ५३ वर्षका काभानोग सर्वोच्च अदालतको न्यायाधीश भए अन्ततः । यसलाई राष्ट्रपति ट्रम्पको राजनीतिक जितका रुपमा लिइएको छ । उनले प्रस्ताव गरेका काभानोगको नाम सिनेटले अनुमोदन नगरेको भए ट्रम्पलाई ठूलो राजनीतिक झड्का लाग्ने थियो ।

काभानोगको नाम अनुमोदन भए पनि अमेरिकी राजनीतिमा देखिएको विभाजनको रेखालाई यसले मेटाउन भने सकेको छैन बरु अझ स्पष्ट बनाएको छ ।

सिनेटमा मतदान भइरहेका बेला नै पब्लिक ग्यालरीमा रहेकाहरुले विरोधमा नाराबाजी गरेका थिए । त्यसलाई मत्थर पार्नका लागि उपराष्ट्रपति माइक पेन्सले निर्देश गर्नु परेको थियो ।

काभानोगको नियुक्ति अनुमोदन भएसँगै अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको पकड बलियो भएको छ ।

अमेरिकी कानुनमा अन्तिम निर्णय सुनाउने अधिकार भएको सर्वोच्चको ९ न्यायाधीशसहितको समितिमा काभानोग पुगेका हुन् । काभानोगले स्थानीय समय अनुसार शनिबार साँझ नै सर्वोच्चको न्यायाधीशको शपथ लिएका छन् ।

नियुक्ति अनुमोदन भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले काभानोगमाथि यौन हिंसाको आरोप लगाउने महिलाको खिल्ली उडाएका छन् ।

काभानोगमाथि यौन हिंसाको आरोप लगाउने क्रिष्टिन ब्लेजी फोर्डले गलत व्यक्तिको नाम लिएकोमा आफूलाई शतप्रतिशत यकिन रहेको भन्दै ट्रम्पले मजाक उडाएका हुन् ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्