देश सञ्चार बिहानीः आज के के हुँदैछ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज २९ गतेसम्म दसैंँका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । राष्ट्र बैंक तथा तोकिएका अन्य बैंकहरुले यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने भएका हुन् ।

५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंक बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ ।

यस्तै बचत था ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिइएको छ । उपत्यका बाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । यी बाहेक अन्य बैंकले पनि नोट साट्ने व्यवस्था गरेका छन् ।

सरकारी विद्यालयमा कार्यरत राहत शिक्षकहरुले आइतबार बिहान विरोध प्रदर्शन गर्दैछन् । उनीहरुले आफूहरुलाई स्थायी गर्ने प्रक्रियामा विशेष व्यवस्थाको माग गर्दै बिहान ११ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा आइतबार विशेष कार्यक्रम हुँदैछ । कमलादीमा रहेको प्रज्ञा भवनमा राष्ट्रकवि घिमिरेको सम्मानमा कार्यक्रम हुन लागेको हो । यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन सक्ने बताइएको छ ।

यस्तै नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदैछ । तरुण दलले पछिल्लो समय भइरहेका विभिन्न हिंसाका घटना तथा अरु विषयलाई समेटेर आफ्ना मागसहितको ज्ञापन पत्र बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउन लागेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजेपछि सिंहदबारमा बस्ने तयारी छ ।

आइतबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । यो बैठकमा पार्टीको आन्तरिक विवाद समाधान तथा सरकारको कार्यसञ्चालनका बारेमा छलफल हुने बताइएको छ ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्