राष्ट्रियसभाले आफ्नो दायित्व पूरा गरेन : राधेश्याम अधिकारी

काठमाडौँ – राष्ट्रियसभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राष्ट्रियसभाले आफ्नो दायित्व पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको पुरकसभाका रुपमा रहेको राष्ट्रियसभाले संघीयता कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने भए पनि त्यसमा चुकेको बताएका हुन् ।

संसदीय मामिला पत्रकार समाजले गोदावरीमा गरेको संसदीय पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफै सदस्य भए पनि राष्ट्रियसभाले आफ्नो दायित्व भूलेको उल्लेख गरेका हुन् ।

अधिकारीले भने, ‘म राष्ट्रियसभाको सदस्य भए पनि भनैपर्छ यसले आफ्नो दायित्व पूरा गरेन । हामी स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिबाट निर्वाचित भएर आएका हौँ । त्यस हिसाबले हाम्रो दायित्व स्थानीय तह, प्रदेश र केन्द्रलाई समन्वयन गर्ने हो । त्यो हामीले गरेनौँ ।’

प्रदेशसभाको काम कारबाही प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश समन्वनय समितिको बैठक राख्न पहल नगरिएको अधिकारीले उल्लेख गरे ।

राष्ट्रियसभासँग पर्याप्त समय भए पनि देशका जल्दाबल्दा विषयमा छलफल हुन नसकेको उनले बताए । ‘राष्ट्रियसभासँग पर्याप्त समय भए पनि ठोस काम गर्न सकेनौँ । कहिले १० त कहिले १५ मिनेट बैठक बसेर उठ्ने गरेको छ । सरकारले त विजनेश दिएन दिएन हामी आफैंले पनि विजनेश पैदा गर्न सकेनौं । बैठकलाई विजनेश दिने काम हामी सांसदहरुको पनि हो’ अधिकारीले पत्रकारहरुसँग भने ।

दुवै संविधानसभाका सदस्यसमेत रहेका अधिकारीले संघीय संसदले लाज मर्दो रुपमा कानुन निर्माण गरेको बताए । हालसालै पारित भएका मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक छलफलबिनै कानुन बनेको बताए ।

उनले भने, ‘मौलिक हक सम्बन्धी विधेयक यति लाज मर्दो ढंगले पारित भयो कि हामी सांसदले पाना पनि नपल्ट्याइ पारित गरौँ । संशोधन दर्ता गर्न तीन घण्टाको समय दिएको छ भन्न पनि सकेनौँ ।’

सांसद अधिकारीले संसद र समितिहरुले आफ्नो काम प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्