चाडबाडलक्षित सुरक्षा योजना

बाँकेमा जताततै प्रहरी

फाइल तस्बिर

नेपालगञ्ज – बाँके प्रहरीले चाडबाडलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राख्दै बाँके प्रहरीले चाडबाडलक्षित जिल्लाको सुरक्षा योजना सार्वजनिक गरेको हो ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले हिन्दू नेपालीहरुको महान पर्व दसैँ, तिहार र छठ पर्वमा कोही पीडित हुन नपरोस् भन्ने हेक्का राखेर सुरक्षा योजना बनाएको बताए ।

बाँके प्रहरीले भारतमा कमाई गरेर फर्किएका नेपालीलाई सुरक्षित तरिकाले घरसम्म पुर्‍याउने विभिन्न योजना बनाएको छ । नाकामा यात्रु सहायता कक्षा सञ्चालन गरिसकेको बाँके प्रहरीले सीमावर्ती भारतीय बजारमै गएर उनीहरुको सुरक्षा गरिरहेको छ । नाकाबाट बसपार्कसम्म आउदा प्रहरीले विशेष निगरानी गरेको छ ।

तोकिएको भन्दा बढी भाडा लिएमा, सीट भन्दा बढी यात्रु बोकेमा, यात्रुलाई तानातान गरेमा प्रहरीले कारबाही गर्ने चेतावनी दिएको छ । दसैँंमा बैंकमा कारोबार बढी हुने भएकाले प्रहरीले बैंक आसपासमा प्रहरी टोली खटाएको छ । एसपी पौडेलले सबै बैंक आसपासमा प्रहरी परिचालन गरेको जानकारी दिए ।

बाँके प्रहरीले अवैध मदिरा र जुवातासविरुद्ध पनि अभियान चलाएको छ । वडा प्रहरीको अगुवाईमा शनिबारमात्रै एक हजार छ सय ७ लिटर घरेलु मदिरा नष्ट गरिएको थियो । एसपी पौडेलले गुण्डागर्दीविरुद्ध कठोर हुने चेतावनी दिएका छन् ।

दसैँंमा चोरी, लुटपाट हुन सक्ने भएकाले प्रहरीले विगतमा चोरी काण्डमा लागेका व्यक्तिहरुको लगत राखेर निगरानी गरिरहेको छ । दसैँंमा बाहिरबाट आएकाहरु घर फर्किने र कोहीले घर नै खाली गरेर चाडबाड मनाउन जाने भएकाले त्यस्तो बेलामा चोरी हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको छ ।

प्रहरीले पैदल, साइकल, मोटरसाइकल र गाडीमा गस्तीलाई बढाएको छ । एसपी पौडेलले घटना हुने बित्तिकै घटनास्थलमा पुग्नका लागि २० जनाको विशेष टोली बनाएका छन् ।

बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यात्रुहरुलाई दुःख दिने, बढी भाडा लिने गाडीलाई कारबाही गर्ने चेतावनी दिए । ‘चाडबाडमा सबै जनाले हँसीखुशी यात्रा गर्न पाउन्, कमाईलाई घरसम्म सुरक्षित गर्न सकुन्, गुण्डागर्दी, अपराध कतै नहोस् भन्नेमा हामी लागि परेका छौं, प्रजिअ भुजेलले भने ।

भेरी यातायात समितिका कावा अध्यक्ष शोभाकर पौडेलले सरकारको पछिल्लो गतिविधिले गर्दा यो दसैँमा नयाँ बस थप्न नसकेको बताए । ‘हरेक साल चाडबाडमा नयाँ बस थप्थ्यौ, यसपाली थपिएको छैन, लगानीकै सुरक्षा नहुने अवस्था आएको छ, पौडेलले भने, हामीसँग भएका बसहरुलाई व्यवस्थित गर्नेमा हामी लागि परेका छौँं ।’

नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, सामुदायिक सेवा केन्द्रका पूर्वअध्यक्ष गोपाल अधिकारीले चाडबाडमा कुनै अपराधिक घटना, हैरानी हुन नदिन प्रहरी प्रशासनलाई सुझाव दिए ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्