किन छैटौँ पटक पक्राउ परे राउत ?

फाइल तस्बिर-सीके राउत

काठमाडौँ- राज्य विप्लवजस्तो अति संवेदनशील विषयमा पटकपटक गिरफ्तार र रिहा हुँदै आएका बिखन्डनवादी नेता सिके राउत छैटाैँ पटक पक्राउ परेका छन्। रौतहट प्रहरीले आईतबार राज्य विप्लवको आरोपमा उनलाई पक्राउ गरेको हो।

अलग मधेशको माग गर्दै अभियान चलाईरहेका राउत पटकपटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै विषेश अदालतले सफाइ दिँदै आएको छ। प्रहरी प्रवक्ता शैलेश थापाले रौतहटमा भएको उनको गिरफ्तारी राज्य विप्लवकै शिलशिलामा भएको बताए।

राउत पहिलोपटक २०७१ सालमा मोरङमा पक्राउ परेका थिए। त्यसको एक वर्षपछि अर्थात २०७२ सालमा चारपटक पक्राउ परे तीनवटा फरक जिल्लामा।

त्यतिबेला उनलाई सिराहामा एकपटक,सप्तरीमा दुईपटक र बाँकेमा एकपटक पक्राउ गरि राज्य विप्लवको मुद्दा चलाइएको थियो।  सिराहा प्रहरीले चलाएको मुद्धा विचाराधिन छ। अन्य सबै ठाउँमा चलाईएका मुद्धामा राउतले सफाई पाएका छन्। स्थानीय,प्रदेश र केन्द्रको निर्वाचनताका  राउत समूहको गतिविधि तराई क्षेत्रमा ह्वात्तै बढेको थियो। गोप्य

पछिल्लो समय राउतले सामाजिक सन्जाल प्रयोग गरि विखन्डकारी गतिविधी गरिरहेको प्रहरी स्रोत बताउँछ। आफ्ना कार्यकर्तालाई प्रहरीले हत्या गरेको भन्दै उनले सामाजिक सन्जालमार्फत तथानाम गाली गर्दै विरोध गरिरहेका थिए। प्रहरीद्धारा पक्राउ गरिएका सिके राउतका एक कार्यकर्ता राममनोहर यादबको त्यसबीचमा मृत्यु भएपछि उक्त समूहले प्रहरीले हत्या गरेको आरोप लगाउँदै आएको छ।

पछिल्लो समय सिके राउत समूहका कार्यकर्तामाथी प्रहरीले उच्च निगरानी गरिरहेको छ। सो समूहका कार्यकर्ता प्रायजसो दिनदिनै पक्राउ परिरहेका छन्। राउतले नेतृत्व गरेको अलाइन्स फर इनडिपेन्डेन्ट मधेश-एआईएमलाई विभिन्न अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था, राष्ट्र संघको नेपाल अफिससँग आवद्ध केही व्यक्तिहरु, युरोपेली संघका केही कुटनितिज्ञहरुले सहयोग रहेको स्रोत बताउँछ।  तीमध्ये केहीलाई सरकारले बोलाई त्यसो नगर्न चेतावनी समेत दिईसकेको छ।

एआईएमले आफ्ना एजेन्डालाई स्थापित गर्ने हिसाबले विखन्डनको पक्षमा मधेश डटकम नामक साइट समेत चलाउँदै आएको लामो समयदेखि राउत समूहको गतिविधीलाई हेरिरहेका एक प्रहरी अधिकारी बताउँछन्। आफ्ना एजेन्डालाई स्थापित गराउन सैन्य अभ्याससम्म जान सक्ने एआईएमका रणनितिक दस्ताबेजहरुमा उल्लेख छ। यद्यपी राउतले आफुलाई गान्धीवादी दावी गर्दै आएका छन्।

 

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्