पत्रकार कँडेलको ‘अवतरण’ विमोचनमा ओली र प्रचण्ड

‘गिरिजाबाबुले आँट नगरेको भए शान्ति प्रक्रिया हुँदैनथ्यो, राष्ट्रपति बनाउनु पर्थ्यो, त्रुटी भएकै हो’

पुष्पकमल दाहाल प्रचण्ड। तस्बिरः बर्षा शाह/देश सञ्चार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार एउटै मञ्चमा थिए। पत्रकार शुभशंकर कँडेलले लेखेको पुस्तक ‘अवतरण’ विमोचन कार्यक्रममा नेताद्वयले विगतको समीक्षा मात्रै गरेनन्, प्रायश्चितको भावमा समेत प्रस्तुत गरे।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रायः सम्झिरहने नेकपा अध्यक्ष प्रचण्डले पुनः एक पटक उनलाई स्मरण मात्रै गरेनन्, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउने आफ्नो निर्णय त्रुटीपूर्ण रहेको स्वीकार समेत गरे।

अध्यक्ष प्रचण्डले भने, ‘गिरिजाबाबुले आँट नगर्नु भएको भए शान्ति प्रक्रियाको पूरा हुने थिएन, उहाँलाई राष्ट्रपति बनाउनुपर्थ्यो, त्रुटी भएकै हो, त्यो हाम्रो अपरिपक्वता थियो।’

प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई मात्रै सम्झिएनन्। प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धको बारेमा पनि चर्चा गरे।

प्रचण्डले ओलीसँग वि.सं. २०५८ सालतिरै भारतमा रहेका बेला भएको उल्लेख गरे। प्रचण्डले ओलीप्रतिको सोचाई सोही भेटबाट बदलिएको पनि प्रष्ट पारे। संकीर्णजस्तो लागेपनि ओलीसँगको संवादले उनीप्रतिको धारणा बदलिएको उनले स्पष्ट पारेका छन्।

नयाँ राजनीतिक युग प्रारम्भः प्रधानमन्त्री

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पूरानो राजनीतिक युगको अत्य भई नयाँ युग प्रारम्भ भएको बताएका छन्। ओलीले संघीयता नेपालका लागि पहिलो अभ्यास भएपनि कसैको नक्कल नभएको बताएका छन्।

ओलीले नेपालमा अभ्यासमा रहेको संघीयता कुनै मुलुकको नक्कल नभएको दावी गरे। पहिले स्थानीय तह भएपनि केन्द्रबाट चलेको उल्लेख गर्दै ओलीले अहिले सबै स्थानीय तहले आफ्नो कानुन आफैँ बनाएर काम गर्ने वातावरण बनेको बताएका छन्।

अशोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्