वामपन्थी सरकारका गतिविधिमाथि खबरदारी गर्दै सामना परिवार

सबै तस्बिरहरुः बर्षा शाह/देश सञ्चार

काठमाडौं – सामना परिवार। तत्कालीन नेकपा माओवादीले मुलुकको पहाडी क्षेत्रका धेरैजसो भूभागमा नियन्त्रण जमाउँदा यही कलाकार समूहमार्फत जनताको मन जितेको थियो।

माओवादी आन्दोलन पार्टीको केन्द्रीय सांस्कृतिक टोलीकै पछि–पछि लाग्थ्यो। जनताको अधिकारका लागि गीत गाउँदै र संगीत भर्दै हिँड्ने सामना परिवार जंगल, गाउँ–ठाउँ हुँदै काठमाडौं आइपुगेको छ।

परिवेश फरक होला। तर, सामना परिवार अभियान एउटै छ, जनतालाई गीत–संगीतमार्फत अघि बढाउने।

हो, शान्ति समृद्धि र समानताका लागि वैज्ञानिक समाजवाद वैज्ञानिक समाजवादका लागि सामना जनसंगीत अभियान भन्ने मुल नाराका साथ जनसांस्कृतिक महासंघको केन्द्रीय टोली सामना परिवारले विशेष सांगीतिक प्रस्तुति दिएको छ काठमाडौंमा।

र, पहिलो दिन आइतबार जनवादी सांस्कृतिक आन्दोलनका अग्रजहरुको साथमा कलाकारहरुले प्रस्तुति दिएका हुन्।

कार्यक्रममा जनवादी कलाकारहरु रायन, जेबी टुहुरे, लक्ष्मी गुरुङ विद्रोही लगायतको उपस्थिति रहेको थियो। ६ वटा नृत्य ७ वटा गीत, ओपरा र नाटक प्रस्तुत गरिएको थियो।

कार्यक्रमका वक्ताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरुले माओवादी आन्दोलनका एजेण्डाहरु बेचेर खाएको आरोप लगाए।

नेपालमा वर्तमान कम्युनिष्ट सरकारका गतिविधिलाई कलाको माध्यमबाट खबरदारी गर्न कार्यक्रम आयोजना गरिएको सामना समूहले जनाएको छ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्