राजधानीकै प्रहरी घुस्याहा, धमाधम पक्राउ

श्यामकुमार राई।

काठमाडौँ – काठमाडौँ प्रहरी परिसरले आचरण खराब भएका प्रहरी कर्मचारीलाई सरुवा गरिरहेका बेला शनिबार महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी श्याम राई घुससहित पक्राउ परे।

काँठ क्षेत्रमा राईकै संरक्षणमा जुवाका खालहरु सञ्चालन भइरहेको आरोप लागेको थियो। प्रहरी संगठनमा राई निकै विवादित प्रहरी अधिकृत मानिन्छन्। महानगरीय प्रहरी वृत चापागाउँको प्रमुख रहँदा अवैध बालुवा खानी र ढु‌ंगाखानीलाई स‌ंरक्षण दिएको आरोप लागेका राई पुनः उच्च राजनीतिक पहुँचका कारण काठमाडौँको प्रहरी वृतमा प्रमुख भएर आइपुगेका थिए।

पछिल्लो समय प्रहरी संगठन गैह्र अनुशासन र गैह्रव्यवसायिक क्रियाकलापका कारण विवादमा आइरहेका बेला राजधानीकै प्रहरी घुसकाण्डमा मुछिरहेका छन्।

संवेदनशील मानिने राजधानीको सुरक्षामा सक्षम प्रहरी अधिकारीलाई मात्र जिम्मेवारी दिईनुपर्ने सामान्य मान्यता हो। तर राजधानीकै प्रहरी गैह्रव्यावसायिक क्रियाकलापमा मुछिरहँदा संगठनकै बदनामी थप माथिल्लोस्तरमा भइरहेको छ।

केही समय अघि दरबारमार्ग वृतका प्रहरी बलात्कारको घटना मिलाउन संलग्न भएको भन्दै छानबिनमा तानिएका थिए। तत्कालिन डिएसपी तिलक भारतीलाई कुनै कारबाही भएन। केही प्रहरी अधिकारी हेडक्वाटर तानिएपनि सामान्य कारबाहीमा परे।

त्यसपछि सोही वृतका सई वीरेन्द्र एेडी स्थानीय होटल सञ्चालकसँग पैसा मागिरहेको अवस्थामा पक्राउ परे। महानगरीय प्रहरी वृत बालाजुका डिएसपी नवीनकृष्ण भण्डारीसहित चार प्रहरी मुद्दा मिलाई दिने भन्दै घुस मागेको आरोपमा पक्राउ परेका थिए।

पछिल्लोपटक केही साताअघि कोटेश्वर र काँडाघारी क्षेत्रमा कार्यरत ७ प्रहरी कर्मचारी घुस मागेको आरोपमा पक्राउ परेका थिए। एक जना सईसहित समातिएका ती प्रहरीमा धेरै चाहिँ जवान दर्जाका थिए।

परिसरले एक साताअघि खराब आचरण भेटिएको भन्दै राजधानी छिर्ने मुख्य नाका मानिने नागढ‌ु‌ंगामा कार्यरत २० जना प्रहरीको सरुवा गरेको थियो। काठमाडौँ प्रहरी प्रवक्ता एसपी अशोक सिंह नियमित अनुगमन गरी खराब आँचरण भएका प्रहरी कर्मचारी कार्यरत क्षेत्रबाट हटाउने काम भइरहेको बताएका छन्।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्