नेपाल तरुण दलद्वारा मानवअधिकारमा ज्ञापन

तरुण नेता रोहित पुनलाई शहीद घोषणा र हत्यारालाई कानुनी कारबाहीको माग

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष वस्तीलाई ज्ञापनपत्र बुझाउँदै तरुण दलका नेताहरु।

काठमाडौँ– नेपाल तरुण दल केन्द्रीय समितिले आफ्नो संगठनका रोल्पा नगर अध्यक्ष रोहित पुनलाई न्याय दिलाउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता देव घर्ती लगायतको समूहबाट हत्या गरिएका पुनलाई शहीद घोषणा गर्न पनि तरुण दलले माग गरेको छ।

नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, महासचिव भूपेन्द्रजङ्ग शाही लगायतको टोलीले राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई ज्ञापनपत्र बुझाउँदै पुनको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका हुन्।

राजनीतिक प्रतिशोध लिई सुनियोजित ढंगबाट भएको हुनाले तत्काल सम्पूर्ण दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन नेपाल सरकारको सम्बन्धित निकाय नेपाल प्रहरी प्रशासनले गम्भीर भई सक्रियता नदेखाएको हुँदा घटनामा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई कानुनी कठघरामा अहिलेसम्म नल्याएको आरोप तरुण दलले लगाएको छ।

‘यस घटनामा प्रत्यक्ष संलग्न सम्पूर्ण दोषीलाई कानुनी कारबाही र मृतकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी रोहित पुनलाई न्याय दिलाउन सरकार एवं सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गरिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्