दसैँ लाग्‍यो राउटेलाई

राजधानी हिँडे जंगलका ‘राजा’, प्रधानमन्त्रीलाई भेट्‍ने, दसैँ खर्च जुटाउने

प्रधानमन्त्रीलाई भेट्न काठमाडौं जान लागेका राउटे यूवाहरु।तस्बिर-डिलप्रसाद शर्मा/देशसञ्‍चार

सुर्खेत-आफूलाई जंगलको ‘राजा’ मान्‍ने राउटे समुदायका मुखिया राजधानी हिडेका छन्। सुर्खेतको लेकवेशी नगरपालिका–९ गंगटेमा बस्दै आएको राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखिया सोमबार संघीय राजधानी हिँडेका हुन्।

राउटे लोपउन्मुख सीमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट्न मुखिया हरिबहादुर शाही काठमाडौं हिडेका छन्।  नेपालीहरुको चाड दसैँतिहार नजिकिएसँगै प्रधानमन्त्रीसँग भेट गर्ने र ‘जनता’ का गुनासो सुनाउँन काठमाडौं जान लागेको उनले बताए।

जंगल फडानी बढेसँगै राउटे समुदायले काठका सामग्री बनाउन छोडेका छन्। काठका सामग्री बेचेर जीविकोपार्जन गर्दै आएको राउटेहरु पछिल्लो समयमा परनिर्भर बन्दै गएका छन्। ‘यहाँ कोषी, मनदुश बनाउने काठ कम भयो’ वीरेन्द्रनगरमा भेटिएका राउटे मुखियाँ हरिबहादुरले भने,‘सरकारले परिचय पत्र दिँदा मृग (वादर) मरेनन् । मन्त्रीलाई भटेर त्यहि भन्छु।’

दैलेखको गुरास गाउँपालिकामा बस्दै आएका ४० घर राउटे सुर्खेतको लेकवेशी केही दिन पहिले वस्ति सेरेका छन्। गुरास गाउँपालिकाले राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको थियो। तर, उनीहरुले परिचय पत्र त्यागेर लेकवेशी झरेका हुन्।

मुखिया शाहीका अनुसार सुर्खेतमा सरेको वस्ति आगामी दिनमा दाङ्ग, सल्यान र रुकुममा सार्ने योजना। ‘गाउँपालिकाले परिचय पत्र दिएको थियो, घरमा परिचय राखेपछि जंगलमा भएको सिकार समेत जाल (पासो)मा परेन’ उनले भने,‘त्यही भएर परिचय पत्र जंगलमै फालेर वस्ती सुर्खेत झर्‍यो ।’

जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायको दशै र माघी सबैभन्दा ठूलो पर्व हो। दशै नजिकिएसँगै प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर दशै खर्चसँगै राउटेका लागि घुमन्ते निती बनाउन माग गर्ने योजनासहित राजधानी हिडेको मुखिया हरिबहादुरले बताए।

दशैका लागि प्रधानमन्त्रीले भेट्न बोलाएको उनले बताए। ‘दशैका लागि माग (बोलाइयो) भयो, माग अनुसार गइसके पछि दाना (चामल) दिनैपर्छ । दाना नदिए राउटेले कसरी दशै मनाउने, क्याँ खान्या, क्याँ लाउन्याँ, त्यो पनि चाहियो नी ?’ उनले भने,‘दशैका लागि जनताले पढाएको छ । प्रधानमन्त्रीलाई भेटेर खाना चाहियो, लाउन्याँ चाहियो भन्छु म।’

जनताका लागि लुगालत्ता र खानेकुरा ल्याउने प्रतिवद्धतासहित उनीले राजधानी हिडेका हुन् । दशैका लागी बली (खसी) ल्याएरै आउने उनले बताए ।
उनले वस्ति जहाँ सर्‍यो त्यही ठाउँबाट राज्यले दिने सामाजिक सुरक्षा भक्ता पाउनुपर्ने बताए। ‘भक्ताका लागि परिचय पत्र चाहिदैन्’ उनले भने,‘ परिचय पत्र राखेपछि सिकार गयो की बाँदर एउटा पनि परेन्। गाउँपालिकाबाट दिएको परिचय पत्र जंगलै फालिदिऔं। त्यसैले परिचय पत्र भन्दा भक्ता दिने नीति चाहियो।’

प्रधानमन्त्रीले दशै खर्च दिएपछि फर्किने बताए। जनताले छिट्टै फर्किनु भने पनि प्रधानमन्त्रीबाट खसी नल्याएसम्म नफर्किने योजना उनले बनाएका छन् । भन्छन्,‘मन्त्री ज्यूले कहिले फर्किने गर्छ, जनताले आज जानु भोलि÷पर्सी फर्किनु भन्याको छ’ उनले भने,‘हरिबहादुर मुखियाले खर्च मागेको हो। दियो भने राम्रौ भयो। नदिए पनि राम्रो भयो।’

राउटे लोपउन्मुख सीमान्तकृत वर्ग उत्थान नेपालका उपाध्यक्ष यज्ञबहादुर बुढा मगरले बताए। उनले राउटेका लागि सरकारले फिरन्ते नीति ल्याउनुपर्ने बताए। ‘राउटेहरु एकै स्थानमा बस्दैनन्’ उनले भने, ‘यो समुदायलाई समेट्ने र मूल धारमा आउने गरी ऐन कानून बनाउन सरकारले ध्यान दिनुपर्छ।’

उनले पछिल्लो समयमा राउटे समुदाय असुरक्षित भएको बताए। दैलेखमा बस्दा असुरक्षा महसुस गरी राउटेले बस्ती सकेको दाबी उनको छ।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्