राजधानीमा प्रहरीबाट प्रहरी नै आतंकित, शुद्धीकरणको नाममा तीब्र धरपकड

काठमाडौँ – पछिल्लो समय जनतामाझ निकै आलोचित बनेको नेपाल प्रहरीले राजधानीमा शुद्धीकरणका नाममा चलाएको अभियानले प्रहरीमाझ नै आतंक सिर्जना गरेको छ।

काठमाडौँ प्रहरी परिसरले सोमबार छानबिनका लागि भन्दै महानगरीय प्रहरी वृत कमल पोखरीमा कार्यरत एक नायव निरीक्षक (सई)लाई नियन्त्रणमा लिएपछि प्रहरी संगठनभित्र आतंक सिर्जना भएको हो।

काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी बसन्त लामाले ती सईविरुद्ध गुनासाहरु आएकाले के हो भनेर बुझ्न परिसरमा ल्याइएको बताएका छन्।

परिसरले आन्तरिक शुद्धीकरण भन्दै दुई साताअघि मात्रै काजमा आएका एसपी अशोक सिंहको कमाण्डमा विशेष अनुगमन समिति बनाएको छ।

प्रहरी अधिकारीविरुद्ध गुनासा सुन्न संगठनभित्रै स्थानीयदेखि केन्द्रसम्म शेलहरु तयार गरिएको हुन्छ। ती शेलले उजुरीबारे छानबिन गर्छ र आवश्यक परे कारबाही सिफारिस पनि गर्छ।

यी व्यवस्था हुँदाहुँदै तपाईले किन छुट्टै अभियान चलाइरहनु भएको छ भन्ने प्रश्नमा एसएसपी लामाले स्पष्ट जवाफ दिएनन्।

‘सबै गुनासाहरु प्रहरीसम्म नआउन पनि सक्छन्, कतिपय घटनाहरु मिलेमतोमै गुपचुप हुन्छन्, र गुनासाहरु सम्बन्धित निकायसम्म पुग्दैनन्,’ एसएसपी लामाले भने, ‘यसलाई मध्यनजर गर्दै हामीले आन्तरिक शुद्धीकरण अभियान चलाएका हौँ।’

एक साताअघि परिसरले गैह्र व्यावसायिक क्रियाकलाप गरेको अभियोगमा राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा कार्यरत २० प्रहरी कर्मचारीको सरुवा गरेको थियो।

परिसरका एक जुनियर प्रहरी अधिकृत आन्तरिक शुद्धीकरणको नाममा संगठनबाट भइरहेको यस किसिमको व्यवहारले प्रहरी नै आतंकित भएको बताउँछन्।

‘प्रमाणसहित रंगेहात भेटिए छानबिन गर्नु स्वाभाविक हो, तर यस्तो गुनासो आइरहेको छ वा यस्तो हल्ला छ भनेर धरपकड गरी सोध्दा त्यसको मनोवैज्ञानिक असर पनि ख्याल गरिनुपर्छ,’ ती प्रहरी अधिकृतले भने।

अशोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्