साउदीमा फसेका सोमनको उद्दारमा भारतीय ससुराको दौडधुप

‘छोरी र नाति-नातिनाको बिचल्ली भइसक्यो, ज्वाइँलाई जसरी भएपनि फर्काइदिनुस्’

भारत विहारका वृजनन्दन शाह। उनी काठमाडौंमा डेढ दशकदेखि खाली सिसी बोतल संकलन गर्दै आएका छन्। तस्बिर-उजिर कार्की/देश सञ्‍चार

काठमाडौं – ‘ए  हजूर ! पुरानो कागज, खाली  सिसी बोतल, फलाम…’

काठमाडौंका गल्ली–गल्लीमा यस्तो आवाज नसुन्ने सायद कमै होलान्। यसरी नै कवाडी सामग्री भेला गरेर आफ्नो दैनिक धान्‍नेहरुको ठूलो भीड छ राजधानीमा।

सर्लाहीसँगै जोडिएको भारतको विहारका ब्रिजनन्दन साहको दैनिकी यही ‘स्लोगन’ दोहोर्‍याउँदै बित्‍न थालेको वर्षौं भइसक्यो।

नेपालमा कवाडी संकलन गरेरै चलाएका छन्, ब्रिजनन्दनले भारतमा भएका परिवारको गुजारा। उनले सम्झिल्याउँदा १५ वर्षभन्दा बढी पुर्याउँछन्। तर, ठ्याक्कै यही कामका लागि नेपाल छिरेको मिति उनको यादमा पनि प्रष्ट छैन।

तर, सर्लाहीसँगको नाता सीमानाका कारण मात्रै रहेन ब्रिजनन्दनका लागि। पूरानो साइकल डोहोर्याउँदै छिर्नुभन्दा पहिले पनि उनका लागि नेपाल अर्को देश जस्तो थिएन।

छोरी आरती देवीको विवाह सर्लाहीको पर्सा गाउँपालिका–२ का सोमन साह रौनियारसँग गरिदिए उनले। त्यसपछि त ब्रिजनन्दनको नेपालसँगको नातामा अर्को ‘ब्रिज’ थपियो।

‘यो सिजनका टमाटर पाकेपछि पठाउँछु भन्छ रे, तर पठाउला जस्तो लाग्दैन हजुर, पहिले पनि बन्दा सकिएपछि पठाउँला भनेको थियो, ढाँट्यो।’

उनले त्यसअघि नै काठमाडौंको डिल्लीबजारमा डेरा जमाइसकेका थिए। राजधानीका कुनै गल्ली बाँकी थिएनन्, पूरानो साइकलमा पूरानो बोरा झुण्ड्याएर पूरानै खाली सिसी बोतल, कागज संकलनका लागि डुल्न।

यही हो ब्रिजनन्दनको गरिखाने मेलो पनि। तर, उनले छोरी आरतीको विवाह चाहिँ १० चक्के गाडी चलाउने सोमनसँग गरिदिएका थिए। सोमनले गाडी चलाएर १५–२० हजार नेपालमै कमाउँथे।

नेपालका प्रायः गाउँका युवा वैदेशिक रोजगारीमा गएका छन्, रहरले होस् या बाध्यताले। सर्लाहीको यो गाउँ पनि किन अछुतो हुन्थ्यो र! गाउँका युवाहरु वैदेशिक रोजगारीमा गएर घर खेत जोडिरहेका थिए। सोमनले गाडी चलाएर घरखर्च चलाउनु बाहेक जमाउन सकेनन्।

त्यही भएर सोमनले वि.सं. २०७२ साल भदौ १५ गते साउदीका लागि बाटो तताए। सोमनले सोचेका थिए, केही वर्ष विदेशमा बस्ने घरजग्गा जोडेर फेरि गाडी चलाउन थाल्ने।

अहिले त्यो ऋण बढेर तीन लाख नाघ्यो। सोमनले कमाउन छाडेपछि ब्याज तिर्ने उपाय पनि छैन आरतीसँग। तीन जना बालबच्चा छन्। कतिबेला साहुले उठिबास लगाउँछन् त्यो पनि टुंगो छैन।

गाउँकै एजेन्टमार्फत अगाडि बढेको थियो उनको यो सपनाको यात्रा। एक हजार रियाल तलब, लेबरको काम भनिएको थियो। लेबर भनेपनि मझरामा गर्नुपर्ला भन्ने सोचेका थिएनन्। कम्पनीमा होला भन्ने लागेको थियो। तर, व्यक्तिको कृषि फार्ममा खेती किसानीको काम गर्नुपर्यो।

साउदीमा बन्धक बनेका सोमन साह रौनियार ।

सोमनले एक हजार भनेपनि आठ सय रियाल मात्रै तलब पाए। तर, त्यही तलब पनि नपाएको १६ महिना भइसक्यो। लामो समय तलब नदिएपछि घर आउन खोजे, त्यो पनि साहुले दिएको छैन। अहिले ब्रिजनन्दनका ज्वाइँ सोमनलाई न तलब दिन्छ, न त नेपाल फर्किन नै। साहुले भातको भरमा काम लगाइरहेको छ। ब्रिजनन्दनलाई ज्वाइँको उद्दार गर्नुपर्ने जिम्मेवारी आइलागेको छ।

केही महिना भयो, ब्रिजनन्दनको साइकलले विश्राम पाउन थालेको। ‘छोरी र नाती–नातिनाको बिचल्ली भइसक्यो, ज्वाइँले साउदीबाट हारगुहार गरिरहेका छन्,’ ब्रिजनन्दनले देश सञ्चारसँग गुनासो पोखे, ‘ऋणले डाँडो काटिसक्यो, भएको १० धुर जग्गा देखाएर कति जनासँग ऋण खाने?’

सोमनले त्यही जग्गा देखाएर साउदी उड्ने बेलामा पनि ऋण मागेका थिए। उनले कमाएर नपठाएपछि आरतीले त्यही जग्गा र श्रीमान् विदेशमा भएको ढाडस देखाउँदै घरखर्च चलाउन पनि ऋण काढिन्।

अहिले त्यो ऋण बढेर तीन लाख नाघ्यो। सोमनले कमाउन छाडेपछि ब्याज तिर्ने उपाय पनि छैन आरतीसँग। तीन जना बालबच्चा छन्। कतिबेला साहुले उठिबास लगाउँछन् त्यो पनि टुंगो छैन।

सोमनले साहुसँग घर आउन धेरै पटक कुरा राखे। तर, उनले जति पटक कुरा राख्छन्, त्यति पटक नै साहुले भाका मात्रै तोक्छन्। भाका पुगेपनि घर फर्किन दिँदैनन्। साउदी गएको तीन वर्षभन्दा बढी हुँदा पनि अकामा कार्ड (परिचय पत्र) दिएको छैन।

सोमनको उद्दारका लागि कन्सुलर सेवा विभागमा निवेदन गरेको ६ महिना भयो। नेपाली राजदूताबासमा पनि खबर गरेका छन् उनले। तर, दूताबासले फोन गरेको दिन ‘मुबारक फार्म दी ब्रिक’का ती साहुले कुटपिट गरे। भन्न त दूताबासले एक महिनाभित्रमा नेपाल फर्काउने बताएका छन्। तर, ब्रिजनन्दनलाई अझै पनि विश्वास छैन, ज्वाइँलाई पठाइदेला भनेर।

छोरी आरतीले सोमबार बिहानै फोन गरेर भनिछिन्, ‘आज बुझिदिनु न बुबा ज्वाइँको उद्दारका लागि के हुँदैछ।’ छोरीले आग्रह गरेपछि ब्रिजनन्दन साइकल थन्क्याएर ज्वाइँको खबर बुझ्नतिर लागे।

सोमबार ज्वाइँको उद्दारका लागि दौडधुप गर्दैगर्दा बुद्धनगरमा भेटिएका ब्रिजनन्दनले ज्वाइँका बारेमा सुनाए, ‘यो सिजनका टमाटर पाकेपछि पठाउँछु भन्छ रे, तर पठाउला जस्तो लाग्दैन हजुर, पहिले पनि बन्दा सकिएपछि पठाउँला भनेको थियो, ढाँट्यो।’

छोरी आरतीले सोमबार बिहानै फोन गरेर भनिछिन्, ‘आज बुझिदिनु न बुबा ज्वाइँको उद्दारका लागि के हुँदैछ।’ छोरीले आग्रह गरेपछि ब्रिजनन्दन साइकल थन्क्याएर ज्वाइँको खबर बुझ्नतिर लागे।

‘बर्वादै भइसक्यो, बालबच्चा रोइरहेका छन्, मेरो बिन्ती यत्ति हो हजुर, मेरा ज्वाइँलाई जसरी भएपनि ल्याइदिनु, छोरीको अवस्था नाजुक छ,’ ब्रिजनन्दनले यति सुनाइसकेपछि पनि पत्याएजस्तो ठानेनन्, अझै थपे, ‘छोरीलाई फोन लाइदिन्छु कुरा गर्नुुस् हजुर, हाम्रो कुरा कसले सुन्छ र! हजुरहरुको हातमा छ त्यति चाहिँ गरिदिनुस्, मेरा ज्वाइँ नेपाल निकालिदिनुस्।’

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्