‘मिस फारवेष्ट’ मोनिका गुरुङ

काठमाडौँ – मोडलिङमा रुचि हुने युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘एक्सपर्ट मिस फारवेष्ट २०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् ।
धनगढीमा भएको प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन् । उनलाई पूर्व मिस नेपाल सुगारिका केसीले मिस फारवेष्टको ताज पहिराएकी थिइन् । उपाधिसँगै उनले स्कुटर प्राप्त गरेकी छन् ।
रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘एक्सपर्ट मिस फारवेष्ट २०१८’ को निर्णायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी सहित गायक कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडल निलम चन्द रहेका थिए ।
कार्यक्रमको संचालन शमिरमान श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा अंकिता ज्ञवाली फष्ट रनर-अप र दिव्या गैरे सेकेण्ड रनर-अप भइन् । फष्ट रनर-अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेण्ड रनर-अप गैरेले नगद २५ हजार हात पारिन् ।