मानव तस्करी रोक्ने प्रतिबद्धता

बहराइच (भारत) – नेपाल र भारतका सरकारी तथा अधिकारकर्मीहरुले मानव बेचबिखन रोक्ने सामुहिक प्रतिबद्धता गरेका छन् ।

भारतको बहराइचमा भएको मानव बेचबिखनविरुद्धको कार्यशालामा नेपाल र भारतका अधिकारीहरुले त्यस्तो प्रतिबद्धता गरेका हुन् । उनीहरुले नाकामा निगरानी बढाउने, सूचना आदान प्रदान गर्ने, उद्धारमा एक अर्कालाई सघाउने बताएका छन् ।

भारत बहराइच जिल्लाका जनपथ प्रहरी एसपी सभारामले मानव तस्करी संगठित अपराध रहेकाले त्यसलाई निस्तेज पार्न दुवै देशका अधिकारीहरुले समन्वय, सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । उनले भने, ‘यो मानवता विरोधी अपराध हो । यस्ता संगठित रुपमा भइरहेका छन् । यसलाई तिस्तेज पार्न दुवै देशका अधिकारी, अधिकारकर्मीहरुले निशाना लगाउन जरुरी छ ।’

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका कार्यवाहक प्रमुख टंक खनालले मानव बेचबिखन जुनसुकै आवरणमा भएपनि रोक्न जरुरी रहेको बताए । नेपालबाट कामका लागि भन्दै महिलालाई भारत तथा तेस्रो मुलुकमा लगेर जोखिममा पार्ने क्रम बढेको स्मरण गराउदै खनालले यसका विरुद्धमा दुवै देशका अधिकारी तथा अधिकारकर्मीहरु एकजुट हुनुपर्ने बताए ।


भारतीय सीमा सुरक्षा बल (एसएसबी) का डेपुटी कमाण्डर जयप्रकाशले बेचबिखन किन हुन्छ भन्ने कारण पनि खोतल्न जरुरी औल्याए । झापा, बाँके, बर्दिया र दाङको सीमानामा दश वर्षदेखि बसेका डेपुटी कमाण्डर जयप्रकाशले नेपालमा २०७२ सालमा आएको भूकम्पपछि महिलाको तस्करी बढेको अनुभव सुनाए ।

‘नाकामा बस्ने एसएसबीले नेपाली महिलालाई तस्करी हुन नदिन सधैं सचेत छ । हामीले कतिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरी तथा सम्बद्ध संघ संस्थालाई दिने गरेका छौं, जयप्रकाशले थपे, नेपाल प्रहरी तथा संघ संस्थाले ती व्यक्तिलाई घरपरिवारलाई बोलाएर दिने गर्दछ । २÷४ महिनापछि फेरि ती महिला जोखिमपूर्ण यात्रामै निस्किन्छिन् । यसले स्थायी समाधान दिइरहेको छैन ।’

कारितास, दिल्लीकी लिजाले मानव तस्करी रोक्ने सवालमा भारतीय प्रहरी र एसएसबीका बीचमा समन्वय हुन नसकेको आरोप लगाइन् । ‘तस्करका बीचमा बलियो सम्बन्ध छ । त्यसलाई रोक्ने हाम्रो सुरक्षाफौजमा समन्वय अभाव देखिएको छ, लिजाले थपिन्, भारतीय प्रहरी, एसएसबीसँगै नेपालका प्रहरीका बीचमा समन्वय अति आवश्यक रहेको छ ।’

माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइराला, हाम्रो सम्मानकी कमला पन्त, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, नेपाल–भारत बाल बचाउ फोरमका मिलन ददेल, युनिसेफका रामप्रसाद गौतम, बहराइचका पत्रकार अन्जली, महाराजगञ्ज जिल्लाका ग्राम पञ्चायतका प्रधान विरेन्द्रकुमार, देहात संस्थाका डा. जितेन्द्र चतुर्बेदी, भारतीय वकील सुभांगीलगायतले मानव तस्करी रोक्न सबैले आ–आफ्नो ठाउँमा योगदान गर्नुपर्ने बताए । नाकाहरुमा सचेतना कार्यक्रम, रोकथाम, उद्धार, पुनस्र्थापना कार्यमा दुई देशका अधिकारीहरुका बीचमा समन्वय र सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।

कार्यक्रममा नेपालबाट साथी संस्था, केआई नेपाल, साना हातहरु, सुनौली नाकाबाट केआई र थ्री एञ्जल्सका प्रतिनिधिहरु सहभागी रहेका थिए ।
मानव बेचबिखनका लागि नेपालगञ्ज नाका प्रमुख नै मानिने भएकाले दुई देशका अधिकारी तथा अधिकारकर्मीहरुको यस्तो कार्यशाला भइरहन्छ । मानव बेचबिखनको मुद्दा दुई देशका सीमा क्षेत्रको उच्चस्तरीय सुरक्षा बैठकमा समेत छलफल हुने गरेको छ ।

असोज २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्