विवेकशील साझा पार्टीका प्रवक्ता भन्छन्,

‘काठमाडौं–७ को उपनिर्वाचनलाई संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसरका रुपमा सदुपयोग गर्छौं’

डा. सूर्यराज आचार्य।

काठमाडौं – विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले काठमाडौं क्षेत्र नम्बर–७ मा हुने उपनिर्वाचनलाई संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसरका रुपमा सदुपयोग गर्ने बताएका छन्।

काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सांसद पदबाट राजीनामा दिने घोषणा गरेपछि देश सञ्चारसँगको कुराकानीमा पार्टीका केन्द्रीय प्रवक्ता आचार्यले उपनिर्वाचनमा विवेकशील साझा पार्टीलाई भोट गर्ने आशा व्यक्त गरेका छन्।

‘भर्खरै सुदूरपश्चिम पुगेर आयौं, राजधानीबाहिर त अत्यन्तै राम्रो उत्साह छ भने राजधानीकै एउटा निर्वाचन क्षेत्रमा यस्तो अवसर आउदा हामीले योग्य उम्मेदवार उठाएर संघीय संसदमा जाने अवसरको रुपमा प्रयोग गर्नुपर्छ,’ आचार्यले भने।

वैकल्पिक शक्तिका रुपमा विवेकशील साझा पार्टीलाई जनताले आशावादी नजरले हेरेको उल्लेख गर्दै आचार्यले पार्टीपंति त्यही अनुरुप अघि बढ्ने प्रष्ट पारे।

प्रदेशमा ३ सीट रहेको उल्लेख गर्दै यो निर्वाचनले संघीय संसदमा पनि विवेकशील साझाको प्रतिनिधित्व हुने अपेक्षा उनले व्यक्त गरेका छन्।

अशोज २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्