
पोखरा – पछिल्लो समयमा बालिकामाथि भइरहेको बलात्कार, हत्याहिंसाका घटनाले बालिका एवं किशोरीहरु असुरक्षित हुँदै गएको भन्दै प्रतिकारका लागि आत्मरक्षा तालिमलाई जोड दिन थालिएको छ।
पोखरामा केही समयअघि १० वर्षीया श्रीया विकको बलात्कारपछि हत्या भयो। लामाचौरकी कक्षा ६ मा अध्ययरत १३ वर्षीया पुष्पा केसी पनि मृत भेटिइन्। देशका विभिन्न ठाउँमा बालिका र किशोरीमाथि बलात्कारका घटनाहरु भइरहँदा समाज छोरीहरुका लागि असुरक्षित बनेको त होइन भन्ने चिन्ता अभिभावकलाई थपिएको छ।
यस्ता हिंसात्मक घटनालाई न्यूनिकरण गर्नका लागि पोखरामा प्रदेशस्तरीय आत्मरक्षा तालिम शुरु भएको छ। इम्पावर बुमन एन्ड चिल्डेन (इवाच) नेपालले पोखराको बिन्ध्यबासिनी माविबाट छात्रालाई आत्मरक्षाको तालिम शुरु गरेको हो।
यौनजन्य हिंसाले विद्यालय अध्ययरत छात्राहरुमा झनै धेरै मनोवैज्ञानिक असर पारेको भन्दै यसलाई ध्यान दिएर मनोपरामर्शसहित आत्मरक्षाको तालिम प्रदान गरिएको इवाचकी अध्यक्ष सुमिता बस्नेतले जानकारी दिइन्। उनी भन्छिन्, ‘यो तालिम जीवन उपयोगी रहेको छ, यसले आत्मबल बढाउँछ हरेक चुनौतिलाई सामाना गर्ने अर्को शिक्षा पनि तालिमबाट लिन सकिन्छ।’
हाल कक्षा ६ देखि ९ सम्मका छात्राहरुलाई आत्मरक्षा तालिम शुरु गरेको यसलाई प्रदेशका अन्य जिल्लाका विद्यालयमा पुर्याउने जानकारी दिइन्। उनले तत्काल छात्राहरुका लागि मात्रै तालिम सञ्चालन गरेपनि छात्रछात्रा दुवैका लागि उपयोगी रहेको र विद्यालयका पाठ्यक्रम आत्मरक्षा सम्बन्धी विषय समेट्नु पर्ने धारणा राखिन्।
कही–कसैको आर्थिक सहयोग बिना स्वत:स्फुर्त स्वयंसेवी रुपमा तालिम गरिएको भन्दै सबैलाई हातेमालोको लागि समेत उनले आग्रह गरिन्।
तालिमपश्चात कक्षा ९ की छात्रा मोनिका लुंगेलीले आफुलाई गलत नियत भएका मान्छेबाट कसरी जोगिने र आफ्नो शरीरमा कोही कसैले समाउन आए कसरी प्रतिकार गर्ने भन्ने कुरा सिकेको बताइन्।
तालिम प्रशिक्षक तेक्वान्दो खेलाडी जीवन खातीले आत्मरक्षा तालिमले आत्मविश्वास बढाउने र प्रतिकारका लागि उपयोगी हुने बताए। आकस्मिक रुपमा कोही कसैबाट हुनसक्ने आक्रमणबाट जोगिन तालिम उपयोगी हुनेछ। खातीले भने, ‘तालिमका केही विधिहरुलाई ध्यानपूर्वक अपनाउन सके आपराधिक मानसिकता भएकालाई सजिलै प्रतिकार गर्न सकिन्छ।’
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक कोइरालाले आत्मसुरक्षाको तालिमलाई विद्यालय पाठ्यक्रममा समावेश गरेर सिकाउन आवश्यक रहेको बताए। ‘तालिमले आत्मविश्वाससँगै प्रतिकार गर्ने हिम्मत जगाउँछ, यसलाई हरेक विद्यालयमा पुर्याउन जरुरी छ,’ उनले भने।
समाजमा बढिरहेको हत्या, हिंसा बलात्कार अहिले सामाजिक चिन्ताको विषय बनिरहेको अपराधविरुद्ध सबैको हातेमालो आवश्यक रहेको धारणा राखेका छन्। तीन दिनसम्म चल्ने तालिममा कक्षा ६ देखि कक्षा ९ सम्मका २ सय १५ छात्राहरुले सहभागिता रहेका छन्।