फाइल तस्बिर
सुरु भयो दसैँः आज घटस्थापना

मोहनी पर्व दसैँ र देवीका विविध स्वरुपसँग जोडिएका तथ्यहरु

काठमाडौँ – सबै नेपालीले उल्लासका साथ मनाउने चाड दसैँ बुधबार (आज) देखि सुरु भएको छ । आज घटस्थापना दसैँको पहिलो दिन।

यसको सरल शाब्दिक अर्थ छ, घट–कलश र स्थापना–थापना गर्ने। गंगा जल भरिएको कलशलाई स्थापना गरेर भगवानको आरती गर्नु घटस्थापनाको मुख्य कर्म भनिन्छ।

यो दिन जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दावन संघारको लागि आराधना गर्न कलश स्थापना गरिन्छ। वैदिक कालबाट नै चलिआएको यो परम्परले कलशमा स्वर्ग, मर्त्य पातालको सबै देवताको बास रहने मान्यता राख्छ। यस्तै संस्कृति शिरामणि हरिराम जोशीले भने, ‘हामी टंगालको जोशीहरु कलश स्थापना गरिसकेपछि देवताको पूजा गर्न बाहिर जाँदैनौँ, जसको घरमा कलश स्थापना गरिएको छ, बाहिर जानु पर्दैन।’

दसैँ मोहनी पर्व


तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

दानवहरुको राजा महिसासुरको अन्त्यसँग जोडिएको यो पर्वलाई मोहनी पर्वको रुपमा पनि हेर्ने गरिएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘सत्ययुगमा महिसासुर दानवले आफ्नो शक्तिको दुरुपयोग गरेर देवता र मावनलाई दुःख दिएका थिए।

असाध्यै शक्तिशाली यी दैँत्यहरुले स्वर्ग मर्त्य र पाताल तीनै लोकमा आफ्ना नराम्रा कामले दुःख दिएपछि तीनै लोकबाट दुर्गालाई दैत्य संहारको लागि आराधना गरियो र दुर्गाले यी राक्षसको अन्त्य गर्न सुन्दर युवतीको भेष बदलेर दानवहरु आउजाउ गर्ने बाटो नजिक तपस्या गरेझैँ गरेर बसिन्।’

संस्कृति शिरोमणि जोशी भन्छन्, ‘देवीको सुन्दरतामा मोहित भएर उनलाई लैजान खोज्नेहरुसँग देवीले ‘युद्ध गर, जितेर लैजाउ’ भन्दै युद्ध गर्न थालिन् र सुम्भ निशुम्भसँगै सबै नाइके दानवलाई मार्दै नऔँ दिनमा दानव मैसासुरको वद् गरेकी थिइन्।’ यसै दिनको उत्सव विजया दशमी हो।

जमरा विजय उत्सवमा प्रयोग हुने फूल


वैदिक कालदेखि नै यज्ञ गर्ने बेलामा जौको प्रयोग गरिन्छ, जौलाई संस्कृतमा अज भनिन्छ। दानव संहार गरिसकेपछि विजय उत्सवमा लगाउने फूल यहि अजको विरुवा रुप हो।

कहिँ कहिँ मकैको जमरा राख्ने चलन छ, संस्कृति शिरोमणि जोशी भन्छन्, ‘जौ नभएको ठाउँमा के अर्कै अन्न राख्नपर्यो नि। त्यसैले मकैको पनि जमरा राखिन्छ।’ नौ दिनको युद्ध सकेर दशमीको दिन विजय उत्सव मनाउनको लागि नौरथाको सुरुमा नै जमरा राख्ने चलन छ।

विजया दशमीमा टीका लगाएर जमरा लगाएर विजय उत्सव मनाइन्छ भने कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म दीपावली गर्ने चलन पनि छ। यो चलन पौराणिक कालदेखि नै चलन सुरु भएको हो।

तर नेपालमा ७ सय वर्ष अगाडि नौरथा मनाउने गरेको तथ्य भएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘यो लिच्छविकाल भन्दा पछाडि र मल्लकालभन्दा अगाडि देखि यो चलन सुरु भएको हो।

नौ दिनमा पूजा हुने देवीहरु


तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

प्रतिपदाका दिन अर्थात् घटस्थापनाको दिन पूजाआराधना गरिने भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो। हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो। साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ। पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् ।

नवरात्रीको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो। यो माता दुर्गाको दोस्रो स्वरूप हो। ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो। यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ।

माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो। चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यो देवीको १० वटा हात र दस हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ। उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो।

चौथो दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। यी देवीको आठ हात भएका हुनेभएकोले यीनलाई अष्टभुजा देवी पनि भनिन्छ।

नवरात्रीको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन्। यिनी कमलको फूलमा आसिन हुन्छिन्। कमलको फूलमा आसन गर्ने भएकोले यीनलाई पद्मासना देवी पनि भनिन्छ।

नवरात्रीको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो।

सप्तमी फूलपाति हो, यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवती कालरात्रि हुन्। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी कालरात्रि हुन्। उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ। घाँटीमा बिजुली जस्तै झल्कने माला हुन्छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो हुन्छ भन्ने मान्यता छ।

तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

नवरात्रीको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन्। सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष अर्थात् गोरुमा सवारी गर्ने चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल हुन्छन्। यस्तै बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन्।

नवरात्रको अन्तिम दिन महानवमी हो। यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो। यी देवी कमलको फूलमा बस्छिन्। यी देवीको दाहिनेपट्टिको तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँपट्टिको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल हुन्छ।

नौ देवीको पूजा आराधनाको पहिलो दिन घटस्थापनाबाट उत्सवको १० दिन सुरु हुन्छ। यो एकताको संकेतात्मक पर्व हो। पारिवारिक जमघट, खबर आदान प्रदान गर्ने यो पर्वमा दानवीय प्रवृति त्यागेरमात्र अगाडि बढ्नपर्छ भन्ने सन्देश हुन्छ।