अठोट र साधनाबाट आर्जित शक्तिपुञ्ज-१

ज्योति बाँड्दै डा. रीता गुरुङ

देश विदेशमा आँखा शिविरको समय तालिका, अनि आलोपालो त्यहाँ जानु डा. रीता गुरुङको व्यवसायीक बाध्यता हो। तर बाध्यता यस्तो कि जसले उनलाई खुशी ज्यादा दिन्छ ।

त्यो खुशी कसैको गुम्दै गरेको ज्योति फर्काउनु वा नभएकालाई दिलाउनुको हो । अबको उनको बाध्यता र दायित्व बढेका छन्। संस्था र कर्मचारीका समस्या समाधानले अतिरिक्त प्राथमिकता पाएका छन् उनको दैनिकीमा ।

तिलगंगा आँखा प्रतिष्ठानकी सिइओ (कार्यकारी निर्देशक) डा. रीता यही व्यस्तताबिच आफूलाई प्रस्तुत गर्न तयार भइन् देशसञ्चारका जिज्ञासालाई सम्बोधन गर्दै। आफ्नो सफलताबारे कुनै दम्भ प्रर्दशन गर्नु छैन उनलाई तर सफल भएकोमा त्यसको श्रेय ८६ वर्षीया आमा आशादेवी र पिता स्व.दानबहादुरलाई दिइन् निकै ठूलो मात्रामा।

‘कुराकानी समयमै सक्नु पर्छ है ।निर्देशन दिने ठाउँमा बसेपछि आफू पनि समयमै पुग्न पर्छ नि । ढिलो भयो भने मार्छन् मलाई’, दृढता र चिन्ता मिश्रित हाँसोसँगै डा. रीता मुस्कान सहित आफ्नो विगततर्फ मोडिइन् ।

आमाको संघर्ष र प्रेरणा


विगतले उनको मनमा सबैभन्दा ठूलो तस्बिर ३० वर्षमै पति बिहीन उनकी आमा आशादेवीको बनाइदिन्छ। जसको सपना रीताले आफ्नो बनाइन् र त्यसलाई सार्थक तुल्याउन अठोटका साथ निरन्तर मेहेनेत मात्रै गरिरहिन्, ‘सोसल लाइफ’ र अन्य प्राथमिकतालाई छोट्याएर।

उनको साधनले अहिले उनी स्वयं एक आदर्श र प्रेरणा बनेकी छन्। उनले उपचार गरेका अनेकौँ मानिसका लागि मात्रै हैन, आफूले नेतृत्व गरेको अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल तिलगंगा आँखा प्रतिष्ठानका लागि पनि । झण्डै तीन दशक लामो निरन्तर सेवापछि उनकै संस्थाको सिइओ बन्न पुगेकी छन् उनी।

‘फोकस’ ले दिएको सफलता


रीता सानै छँदा भारतीय सेना उनका बुवा दानबहादुरले सन् १९६५ को भारत—पाकिस्तान युद्धमा सहादत प्राप्त गरे। त्योसँगै रीता र उनका दिदी बहिनीको पालनपोषणदेखि भविष्य कोर्ने जिम्मेवारी आमा आशादेवीको काँधमा सर्यो।

एउट दृढ निश्चयी व्यक्तिमा विषम परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउने शक्ति हुन्छ भनिन्छ। रीताकी आमालाई त्यसको उदारण मान्न सकिन्छ। जसले छोरीलाई डाक्टर बनाउन अभाव, विपद् र प्रतिकुल परिस्थितिले उनको बाटो छेकेन।

छोरीहरुलाई ‘ठूलो मान्छे’ बनाउने पती दानबहादुरको चाहना आशादेवीले अरुको जीवन बचाउने डाक्टर भएको बुझिन। आफू साक्षर हुने मौका नपाएकी आशादेवीलाई डाक्टरले समाज सेवा गरेर उज्यालो छर्न सक्छन् भन्ने लाग्थ्यो। उनले त्यो सोचलाई प्रतिज्ञामा रुपान्तरण गरिन्।

छोरीहरुले साथ दिए। त्यतिबेला रीताको जन्मथलो घान्द्रुकमा छोरीका लागि पढाई टाढा थियो। ‘एक्लो हुँदाको पीडा र अभावमा रहेर पनि उहाँले हामीलाई पढाउनु भयो। शिक्षालाई शक्ति मान्नुहुन्थ्यो’, रीताले आमा आशादेवीलाई सम्झिन्।

त्यसैले रीताले सानैमा घर छोडिन्, पहिला काठमाडौंँको महेन्द्र विद्या भवन स्कुलमा र पछि चिकित्सा अध्ययन संस्थान हुँदै विदेशमा उच्च अध्ययनको मौका पाइन्। अध्ययनका लागि । छात्रवृतिबाटै विदेसमा नेत्ररोग विशेषज्ञता हासिल गरिन।

स्वदेश फर्किएर तीलगंगामा प्रवेश गरेपछि उनी त्यो संस्थाको पर्याय बनिन्, डा. सन्दुक रुइत जस्तै। ‘बुवाआमाले मलाई अनकुल वातावरण बनाइदिनु भयो । मैले त्यसको सदुपयोग मात्रै गरेँ। त्यसमा मेरो मेहेनेत पनि गासिएको छ’, रीता भन्छिन्।

महिलाको अतिरिक्त मेहेनेत


सामाजिक परिवेशले नीति निर्माण र निर्णय दिने ठाउँमा पुग्न पुरुष भन्दा महिलाले अतिरिक्त मेहेनेत गर्ने पर्छ । त्यसले डा. रीताको सफलताले बढी महत्व राख्दछ।

‘मुखले बराबर भने पनि एउटै काम गर्न र पद सम्हाल्न महिलाले पुरुष भन्दा धेरै परिश्रम गर्ने पर्छ । जुन मैले गरे र अरुले पनि गरिरहेका छन्’, रीताले आफ्नो अनुभव सुनाइन् । त्यसका लागि धैर्यता र परिवारको सहयोगको पनि खाँचो पर्छ।

‘मेरो श्रीमान सहयोगी नभएको भए र मेरो छोरीले मेरो भाव नबुझेको भए म यहाँसम्म आउने थिएन । उहाँहरु प्रति पनि अनुग्रहति छु’, उनले भनिन्।

डाक्टरी जीवनले दिने खुशी


डाक्टरी जीवनले उनलाई सबैभन्दा धेरै सम्मान दिएको मान्छिन् डा. रीता । परिवार सदस्य, आफन्त, छिमेकी र आफ्ना दौँतरीले त्यही जीवनलाई सम्मान गर्छन्। ‘म र बिरामीबिच जुन प्रगाढ सम्बन्ध बनेको छ त्यो नै मेरो लागि सबैभन्दा ठूलो धन हो।

‘तपाईँले गर्दा गुमेको संसार पाएँ भन्दै दुर्गमबाट उपहार बोकेर बिरामी भेटन् आउँछन् । त्यसले दिने खुशीको मापन गर्न सक्दिन’,उनी भन्छिन् । गुमेको ज्योती बिरामीले पाउँदा रीता बढी खुशी हुन्छिन्।

उपचारका क्रममा उनको परामर्शबाट बिरामीको निराशा हट्छ। डा. रीताले यो अवधिमा ६० हजार मुतिबिन्दुको शल्यक्रिया गरेकी छन् भने २५ हजार ‘कर्निएल ट्रान्सप्लान्ट’ गरेकी छन्। ओपिडीमा पनि हजारौं बिरामीको जाँच गरेकी छन्।

नेतृत्वसम्मको पाइला


परिणाम सँधै अपेक्षा गरे अनुसार आउँदैन। तर सकारात्मक सोचका साथ गरिने कर्मले अक्सर सकारात्मक परिणाम प्रदान गर्दछ । सिइओ जिम्मेवारी आफ्नो काँधमा आउनुलाई त्यही सकारात्मक सोच कर्तव्यलाई श्रय दिन्छिन्।

उनका पिता भन्थे,’सुरु गरेको काम पत्थे गरेर छोड्नु पर्छ, विचलित हुनुहुन्न। ‘मैले तिलगंगाको कार्यकारी हुन्छु भनेर कहिल्यै काम गरिन। काम गर्दै जाँदा समयसँगै त्यसको कदर मात्रै भएको हो’, रीताले भनिन्’, कसैले दया गरेको हो भन्ने पनि खोजेको होइन । मेरो क्षमताको कदर गरिएको हो। संस्थागत हितका लागि गरिएको कामको मूल्याङ्कन हो। नेतृत्वमा पुगेपछि कतिपयका आलोचनालाई कमजोरीको अस्वीकृतिका रुपमा नभएर स्वागतयोग्य प्रवृति मान्छिन् उनी।

‘नेतृत्वकर्तासँग सबै अनुभव र ज्ञान हुन्छ भन्ने छैन । नजानेको सहकर्मीबाट सिक्ने हो । जानेको उनीहरुलाई बाढ्ने हो’, रीताले भनिन् । रीता आज जुन ‘पोजिसन’ मा छन् त्यसबाट उनका परिवार र आफन्त प्रेरित छन् अनि अपरिचित समूह पनि। प्रेरणाको स्रोत उनको घरमै छ ।

रीताकी छोरीले पनि उनकै पथ समातेकी छन्। बाल्यकालमा रीतासँगै विकट गाउँ पाखा चाहारेकी र आमाको मेहेनेतबाट प्रभावित भइन् सायद उनी,‘ आमा म तिमी जस्तै बन्ने हो मलाई अरु विषयमा कर नगर है?

कामको शैली


नेतृत्वले अरुलाई प्रेरित गर्न सक्नु पर्छ । त्यसका लागि अरुसँगै या परेमा बढी काममा खटिन र समयनिष्ट हुनु पर्ने रीताको मान्यता छ ।

‘म कार्यालयमा साढे सात बजे नै आए भने कसैले औला उठाउन सक्दैन। आधा घण्टा अघि आएर रहेका काम सके भने नयाँ दिनको सुरुवात राम्रो हुन्छ। अस्पताल अनुगमनका लागि समय मिल्यो भने जानकारी लिन र दिन सहज हुन्छ । अन्य कार्यक्रममा पनि समयमै भाग लिन सकिन्छ’, रीता भन्छिन्।

समस्यासँग जुध्ने शक्ति


नेतृत्व चुनौति बिहीन हुँदैन, अझ महिलाका लागि। शिक्षा, योग्यता र अनुभवले रीताले प्रतिष्ठित संस्था हाँकिरहेपनि उनी महिलाका नाममा समस्या नतेर्सिएका होइनन्। पुरुषको भिडले कहिलेकाँही अटेरी गरेको हो कि भन्ने पनि लाग्छ रीतालाई ।

‘महिला भएकै कारण कहिलेकाँही फरक व्यवहारको सामना गर्नु पर्छ । तर पनि उनीहरुले मलार्इँ हेपेको या म मा हीन भावना पैदा गरेको निष्कर्ष निकाल्न चाहान्न’, रीताले अनुभव सुनाईन्।

‘जतिसुकै मेहेनेत गर्ने बानी र योग्यता भए पनि महिला नेतृत्वलाई हतपत्ति स्वीकार नगर्ने हाम्रो समाजको चलन छ भए पनि आफूले सुरक्षित अनुभव गरी अघि बढेमा व्यवधान पन्छिदै जान्छन्’, रीताले भनिन्, ‘त्यसका लागि महिलाले अतिरिक्त मेहेनेत गर्नै पर्छ ।’

भन्छिन्’, आफ्नो खुशी भन्दा संस्थागत खुशी हेरियो भने त्यसले दिने खुशी दीर्घकालीन हुन्छ ।

( अठोट र साधनाबाट आर्जित शक्तिपुञ्ज, यो शृङ्खला विभिन्न क्षेत्रमा संघर्षले सफल प्रतिनिधि महिलाहरुमाथि समर्पित छ । नवरात्रभर हरेक दिन एकजना महिला पात्रको कथा प्रस्तुत गर्दै जानेछौँ ।)

सबै तस्बिर तथा भिडियो : प्रभात खनाल/देश सञ्चार