दसैँ विशेष

दसैँ किनमेलको केन्द्र ‘अनलाइन सपिङ’

काठमाडौं- अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका महेश तामाङले दसैंमा श्रमती शर्मिलाको लागि आइफोन र आमाबुवाको लागि दसैँमा खसी उपहार मुन्चा डटकम मार्फत पठाए।उनले पठाएको उपहार तत्काल पुग्दा खुसी हुँदै मुन्चाको साइटमा लेखेका छन्, ‘मैले दसैँमा श्रीमती र आमाबुवालाई पठाइ दिएको गिफ्ट समयमै पुगेछ। धन्‍यवाद मुन्चा डटकम।’

ज्ञानेश्‍वर, भैरवस्थामा बस्‍ने धुजुमान शाक्‍यले दसैंका लागि भनेर बेलायतबाट छोराले पठाइ दिएको टेलिभिजन पाएर मख्ख छन्। छोराले उनलाई अनलाइन सपिङ दराज डटकमबाट उपहार पठाइ दिएका थिए। यस्तै भक्तपुरका किरण मानन्धरले पनि अमेरिका बस्‍ने आफन्तबाट दसैंका लागि टिसर्ट उपहार पाए। भाटभटेनी अनलाइन सपिङमार्फत उपहार पठाइ दिएका थिए।

सूचना प्रविधिको विकास र विस्तारले विदेशमा बस्‍ने आफन्त वा साथीलाई अनलाइनबाटै उपहार पठाइदिने चलन बढ्‍दै गएको छ, खासगरी  दसैँका बेला। नेपालमा पनि अनलाइनबाट किनमेल गर्ने  र उपहार पठाउने शैली दिनप्रतिदिन बढ्‍दो क्रममा रहेको अनलाइन सञ्‍चालकहरुले बताएका छन्।

घरमै बसीबसी इन्टरनेटको माध्‍यमबाट आफूले चाहेको सामान वा उपहार आफन्तलाई वा अरु कसैले भनेको समयमा सहज तरिकाले छिट्टो छरितो र भर पर्दो तरिकाले पठाउने चलन दिनप्रति दिन बढ्दो क्रममा रहेको मुन्चा डटकमका मार्टेकिङ म्‍यानेजर राजन श्रेष्ठ दाबी गर्छन्।

उनी भन्छन्, ‘ अब त नेपालीहरुको चाडबाड सुरु भैसक्‍यो। अहिले त दसैका लागि खसी, लुगाकपडा, मोबाइल-ग्‍याजेट्स लगायका उपहारहरुको बुकिङ बढ्दो छ। खसी नै धेरै यसपालीको दसैँमा अर्डर भएको छ त्‍यो पनि विदेशबाट आफन्तले उपहारका लागि भनेर पठाइ दिएका छन्।’ नेपालीहरुको अनलाइन सपिङ मोह बढ्दै जना थालेको उनी दाबी गर्छन्। भन्छन्, ‘ पहिला हामी सामान किन्‍न अनेकौ पसलमा पुग्थ्यौ र समय नष्ट गर्थ्यौ। तर अहिले त प्रविधि र सञ्‍चारको जमानामा सबैलाई सहज र समयको बचत गरिदिएको छ। नेपालीहरु पनि स्मार्ट हुन थालेका छन्। ‘

नेपाली विदेसिने क्रम बढ्दै गएपछि नेपालमा खोलिएका अनलाइनहरु फस्टाउन थालेको सस्तो डिलका अमुन थापा बताउँछन्। उनी भन्छन्, ‘ दसैंको बेला सस्तव डिलको मेला भनेर हामीले ८० प्रतिशतसम्‍म सामानमा छुट दिएका छौ। त्‍यति मात्र होइन नयाँ वर्ष, क्रिसमस, बाबु–आमाको मुख हेर्ने दिन, भ्यालेन्टाइन डे जस्ता पर्वमा धेरैले विदेशबाट आफन्त र हितैषीलाई उपहार पठाउने गरेका छन्। त्‍यसमा पनि छुट दिँदै आएका छौ।’ सस्तो डिलले यसपाली दसैं तिहारको बेलामा हजार बढीको सामान तथा उपहारहरु विदेशबाट अर्डर पाएको थापाले बताए।

नेपालमा घर-घरमा सामान पुर्‍याउन भनेर खोलिएका अनलाइन सपिङ साइटको संख्या ३० भन्दा धेरै छ।यी मार्फत सामान पठाउन वा घरैमा मगाउन चाहनेले अर्डर दिन सक्छन्। त्यस्ता सामानको भुक्तानी नेपाली बैंकहरुको अनलाइन बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, पेवे, इसेवा, पेपाल लगायत माध्यमबाट गर्न सकिन्छ। मुन्चालगायतका केही अनलाइन किनमेल साइटले ‘क्यास अन डेलिभरी’ अर्थात सामान पुर्‍याउनेलाई नगद दिएर सामान किन्‍न सक्ने सुविधा समेत उपलब्ध गराएका छन्।

दुई वर्षअघि खुलेको दराज अनलाइनले दसैंमा विभिन्‍न अफरहरु लिएर आएको छ। उसले दसैं धमाकामा ५० प्रतिशत छुट,  बडा दसैँ अफर, दसैं दिवस,  फेस्टिभ अफर लगायतका अफरहरु उपभोक्तालाई उपलब्ध गराएको छ।

त्‍यस्तै धेरैले यस वर्षको दसैंमा खसी र अन्‍य गिफ्टहरुको अर्डर दिएको र प्राय ती अस्ट्रेलिया, बेलायत, अमेरिका, युरोपका विभिन्‍न देशबाट अनलाइनमार्फत उपहार पठाउने संख्या बढिरहेको मुन्चाका श्रेष्ठले बताए। उनका अनुसार मुन्चा डटकममा राखिएका लगभग सबै सामान अनलाइनबाटै छानेर उपभोक्ताले किन्‍न/ अर्डर गर्ने गरेका छन्।

इन्टरनेट बैंकिङ, इ-सेवा, क्रेडिट वा डेबिट कार्ड र पेपालमार्फत रकम भुक्तानी गरेको ४८ घन्टाभित्र सामान कष्टमरकहाँ पुग्ने उनले जानकारी दाबी गरे। डेलिभरीका लागि स्थान र दूरी अनुसार शुल्क तिर्नुपर्छ। मुन्चाको सुविधा काठमाडौं उपत्यकाभित्रका उपभोक्ताले मात्र प्राप्त गर्न सक्छन्।

हरिलो डट कमले विदेशी साइटहरुबाट सामान किन्‍न सक्ने सुविधा दिएको छ। अमेरिकामा सामान पठाउने अमेजन, इबेलगायतका अनलाइन साइटमा आफूलाई मन परेको सामान हरिलो डट कममार्फत किन्‍न सकिन्छ। यसका लागि हरिलो डट कमलाई आफूले किन्न चाहेको सामानको लिंक दिएपछि यसले ग्राहकको हातमा सामान पर्दा लाग्ने मूल्य बताउँछ।

हरिलोले दिने सामानको मूल्यमा अनलाइनमा देखाइएको शुल्कका अलावा ढुवानी, भन्सार शुल्क, मूल्य अभिवृद्धिकर पनि जोडिएको हुन्छ। कम्पनीका अनुसार, ग्राहकले रकम भुक्तानी गरेपछि ग्राहकको अर्डर सम्बन्धित अनलाइनबाट किनिन्छ।अमेरिकाको फ्लोरिडामा रहेको कम्पनीको गोदाममा सामान आएपछि त्यहाँबाट हरेक मंगलबार नेपाल पठाइन्छ। ग्राहकले भुक्तानी गरेपछि हातमा सामान आइपुग्न करिब तीन हप्ता लाग्छ।

नेपालको अनलाइन बजारमा निश्चित उत्पादन वा सेवा मात्र विक्री गर्ने सपिङ साइट पनि छन्। मेट्रो तरकारी डटकममार्फत उपभोक्ताले घरमै बसीबसी तरकारी किन्‍न सक्ने मेट्रो तरकारीका मार्केटिङ म्‍यानेजर अमित बस्‍नेत बताउँछन्। तीन सय रुपैयाँभन्दा माथिको किनमेल घरमै पुर्‍याउने व्यवस्था छ भने ग्राहकले डेबिट र क्रेडिट कार्ड वा पेपालको अलावा सामान पुर्‍याउन ल्याउनेलाई नगद भुक्तानी पनि गर्न सक्ने पनि उनको भनाई छ।

यस्तै दसैको बेलामा फुडमाण्डु डटकमले काठमाडौं उपत्यकाभित्र दुई सयभन्दा बढी रेष्टुराँको मेनुबाट उपलब्ध खानेकुरामा २५ प्रतिशत छुट दिने फूडमाण्डुका सविन काफ्‍लेले जानकारी दिए। उनले भने, ‘दसैँमा टीकाको दिन बाहेक सबै दिन हामी उपभोक्ताहरुलाई सेवा गर्न तयार छौ। अर्डर गरेको एक घन्टाभित्र खानेकुरा पुर्‍याउने प्रतिवद्धता जनाउँछौ।’  दसैंमा विभिन्‍न स्वादका परिकारहरु पस्किने र त्‍यसमा पनि विशेष छुटको व्‍यवस्था गरेको उनले बताए।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्