सन्दर्भः विश्व मानसिक स्वास्थ्य दिवस

मानसिक स्वास्थ्य समस्या र समाधानका उपायहरु

मनोविद् आदर्श प्रधान।

काठमाडौँ – ‘तपाईको मानसिक अवस्था कस्तो छ? मनोपरामर्शदातासँग केही छलफल गर्नु भएको छ? कतै डिप्रेसनमा त हुनुहुन्न?’

हो, यो विषयमा सामान्य लागेपनि आफ्नो स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण र अनिवार्य छ। नेपाली समाजमा मानसिक समस्याका बारेमा चिकित्सकलाई देखाउन अथवा जानकारी लिन अझै पनि हिच्किचाउने प्रवृति छ।

कतिले त परिवारमा कुरा गर्नसम्म डराँउछन्। कतिपयका परिवारले बाहिर थाहा होला भनेर चिकित्सक कँहा जँचाउन नगएको पनि पाइन्छ। तर, यसरी मानसिक समस्यालाई लुकाए झन् बढ्ने चिकित्सकहरु बताउँछन्। त्यसैले समयमै निको पार्नु बुद्धिमानी हुने मनोविद् आदर्श प्रधानले बताएका छन्।

प्रधानका अनुसार मानसिक रोग चिकित्सकले जाँच्न साथ अरु रोगजस्तो पत्ता लगाउन सक्दैन। ‘यो कुनै एक्स–रे, सिटी–स्क्यान, रगत जाँचेर थाहा पाउन सकिन्न,’ प्रधानले देश सञ्चारसँग भने, ‘मनसँग सम्बन्धित समस्या हुने भएकाले यो रोग शारीरिक रोगभन्दा अत्यन्त सुक्ष्म हुन्छ।’

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मधुमेह, उक्त रक्तचाप, अन्य संक्रमित रोगहरुभन्दा मानसिक रोग अग्रपंतिमा आउने अनुमान गरेको छ। साधारण मानसिक रोगहरुमा डिप्रेसन, बाईपोलार, डिस्अर्डर, डिमेन्सिया स्किजाफ्रेनिया, एञ्जाइटी डिस्अर्डरहरु पर्छन्।

‘सामान्य मानसिक समस्या सबैलाई हुने गर्छ, जुन आफैँ निको पनि हुने गर्छ,’ प्रधानले भने, ‘त्यसैले सामान्य समस्याबाट असामान्य अवस्थासम्म नपुर्याउन हामी आफैँ नै सचेत हुनु पर्दछ।’ उनले भने।

मनोविद् प्रधानका अनुसार मानसिक समस्याका प्रमुख कारण यस्ता छन्ः

नेपालीले दश वर्षे सशस्त्र द्वन्द्वपछि पनि अझै राजनीतिक स्थिरता अनुभव गर्न पाएका छैन। महँगी, असुरक्षा, अभावले गाँजेको पनि धेरै भइसक्यो। देशको अशान्त अवस्थाले पनि मानसिक समस्यालाई बढवा दिएको छ।

चिन्ता, बेरोजगारी, उदाशिनता, असहायपना, यातना, गरिबी, वितृष्णा, अति महत्वाकांक्षा, असुरक्षाजस्ता कारणहरु मानसिक समस्यालाई बढाउने कारकहरु हुन्।

परिवारबिच मेलमिलापको वातावरण नहुनु, दम्पतीबिच यौन सम्बन्धबाट सन्तुष्ट नहुनुजस्ता समस्याले पनि पछिल्लो समय धेरै मानिसहरुमा मानसिक जटिलता ल्याउने काम गरेको छ।

मानसिक समस्याका लक्षण

व्यक्तिअनुसार धेरै प्रकारका मानसिक समस्याका लक्षण हुनसक्छन्।

तीमध्ये केही लक्षणहरु यस प्रकार छन्।

–असम्भावित घटनाहरु हुने कुरामा डरजस्तै बेहोस् हुँला कि भन्ने डर, मानसिक सन्तुलन गुमाउँला कि भन्ने डर हुन्।

–हातखुट्टा वा शरीरबाट पसिना आउने।

–मनमा धेरै कुराहरु खेलाउने, तर्सिने, झस्किने।

–कुनै कारणबिना नै अत्यन्त खुशी र दुखी हुनु।

–एक ठाँउमा बस्न नसक्ने, छटपटी हुने।

–मुटुको असमान्य रुपमा धड्कन बढ्ने।

–हातखुट्टा काम्ने, अचानक शारीरिक कमजोरी हुने।

–बेसुरले बोल्ने, बेलाबेलामा बेहोस् हुने।

–सामान्य अवस्थामा भन्दा यौनइच्छामा कमी आउने।

बढी रिसाउने, झर्किने, दैनिक काममा मन नलगाउने, निद्रा नलाग्ने वा निद्रा मात्रै लागिरहने।

जति–जति हामी थाहा पाएर पनि डाक्टर, मनोविद् या मनोविमर्शदाताकहाँ जान डराउछौँ, त्यति नै हाम्रो समस्या थपिँदै जान्छ। जसका कारण सुरुवाती अवस्थामा निको पार्न सकिने समस्या पछि जटिल बन्दै जान्छ।

नेपालमा मनोपरामर्श केन्द्रहरु

नेपालमा मनोपरामर्श केन्द्रहरु भएपनि त्यहाँ परामर्शका लागि त्यति जाने गरेका देखिँदैन। त्यस्ता केन्द्रहरुमा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु मात्र जान्छन् भन्ने आमधारणा रहेको छ।

अर्को कुरा अस्पतालहरुमा मानसिक विभाग र मनोविज्ञान विभाग भएपनि सहकार्य गरी उपचार गर्ने गरेको पाइँदैन। मानसिक चिकित्सकहरुले परामर्शभन्दा पनि औषधिको सेवन गराउँछन्। मनोपरामर्शदाताहरुले औषधि सेवन गर्ने सल्लाह नदिई परामर्श गर्ने गरेका छन्।

त्यसैले बिरामीलाई अन्योलमा नपारी साधारण रोगीलाई चिकित्सकहरुले पनि मनोपरामर्श केन्द्र पठाउने र मनोपरामर्शदाताले पनि रोगीलाई चिकित्सककहाँ पठाउनु राम्रो हुन्छ।

मानसिक समस्या ठिक पार्ने वैकल्पिक उपाय

सामान्य मानसिक समस्यालाई औषधिले भन्दा योग, प्राणायाम, ध्यानबाट पूर्ण रुपमा ठिक हुन सकिन्छ।

ध्यानको साक्षी साधनाअनुसार हाम्रो विचार, भावना र शरीरमा आइरहेको विचार, भावना, संवेदनाहरुलाई ठिक–बेठिक भनेर नछुट्याई होस् पूर्ण रुपमा हेर्न सक्यौं भने पनि विस्तारै मानसिक समस्या ठिक हुन्छ।

जसको लागि दैनिक साधना गर्नुको साथै धैर्यको खाँचो हुन्छ। त्यसको साथै सकरात्मक चिन्तन, सन्तुलित भोजनले पनि सहयोग गर्दछ। यसका लागि योग्य ध्यानाचार्यसँग प्रशिक्षणको खाँचो हुन्छ।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्