कृषिमन्त्रीको स्वीकारोक्ति

‘राँगाभैँसीको मासु सबैभन्दा दुषित, खसी र कुखुराको पनि गुणस्तरीय छैन’

चक्रपाणी खनाल।

काठमाडौँ – काठमाडौँमा राँगाको मासु सबैभन्दा दुषित रहेको पाइएको छ। कृषि मन्त्रालयले वधशालामा गरेको अनुगमनका क्रममा कृषिमन्त्री चक्रपाणी खनालले राँगाको मासु लापरबाही र फोहोर किसिमले बनाउने गरेको पाइएको बताएका हुन्।

दसैँको अवसरमा कृषि मन्त्रालयले गरेको चियापान तथा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खनालले राँगाभैँसीको मासु काट्ने मुख्य २० वटा वधशाला भएपनि प्रायः सबै अव्यवस्थित र दुषित रहेको जनाएका छन्।

खनालले दसैँ लगायतका चाडवाडलाई लक्षित गरेर बजार अनुगमनलाई तीव्रता दिने बताए। देशका विभिन्न ठाउँका बजारमा अनुगमनका लागि मंगलबारबाटै टोली परिचालन गरिएको जानकारी दिँदै मन्त्री खनालले बेचबिखनका लागि ल्याइएका खसी, राँगा लगायतको परीक्षण समेत गर्ने बताए। उपभोक्तालाई पनि मासु किन्दा बिचार पुर्याउन आग्रह गरेका छन्।

चेकजाँचका क्रममा संक्रमित पाइए तत्काल कारबाही गर्ने मन्त्री खनालको भनाई छ। काठमाडौं उपत्यकामा व्यवस्थित मिटमार्टको अभाव हुँदा दुषित मासु खान बाध्य भएको र यसलाई नियमन गर्न मन्त्रालयले समेत नसकिरहेको मन्त्री खनालले स्वीकारे।

हेटौँडामा डेनिस सरकारले बनाइदिएको मिटमार्टमा २ सय राँगा काटेर स्टोर गर्न सकिने भएपनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सञ्चालनमा नरहेको जानकारी गराए। मासु जाँच ऐन २०५५ को एक अक्षर पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्री खनालले त्यसको दोष आफूले पनि स्वीकार्ने बताएका छन्।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्