ट्राफिक पुलिस र्यापिड स्क्वार्डको उद्घाटन

बद्‌मासी गर्ने प्रहरीलाई टिपेर फाल्दिन्छुः प्रहरी महानिरीक्षक

नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनाल।

काठमाडौं – नेपाली प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बदमासी गर्ने प्रहरीलाई टिपेर फालिदिने बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको ट्राफिक पुलिस र्यापिड स्क्वाडको उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख खनालले काठमाडौँमा प्रहरीबाट धेरै नराम्रा काम भएको स्वीकारेका छन्।

‘प्रहरीबाट धेरै नराम्रा कुरा भएका छन्, ती प्रहरीका किरा हुन्, यस्ता मान्छे गएहुन्छ, जहाँ जान मनलाग्छ, प्रहरीमा काम छैन,’ उनले भने।

खनालले राम्रो गर्दागर्दै नराम्रो भएमा आफूले सहयोग गर्ने बताउँदै तर बदमासी गर्न नपाइने प्रष्ट पारे। ‘प्रहरीभित्र बदमासी गर्नेलाई टिपेर फालिदिन्छु,’ खनालले भने ‘यो निर्देशन सिपाहीदेखि अधिकृत सबैका लागि हो, अब घुसको कुरा सुन्न नपरोस्, म सहने छैन।

पछिल्लो समय काठमाडौँमा प्रहरीबाट भएको घुस प्रकरणलाई इङ्गित गर्दै खनालले आफ्नो क्षमताले काम गर्न अरु ठाउँबाट हुन्छ भन्ने आश नगनु पनि आग्रह गरे। उनले केही ठाउँमा परिवर्तन भएको र अब अरु ठाउँमा त्यहीअनुरुप कारबाही गर्ने बताए।

र्यापिड स्क्वाडको उद्देश्य छिटो सेवा प्रदान गर्नु रहेको जनाउँदै खनालले यसमा गुनासो आउन नदिन निर्देशन दिए। ट्राफिक प्रहरीलाई इंगित गर्दै खनालले भने, ‘तपाईहरुको व्यवहार राम्रो हुनुपर्छ, तपाईहरु चिट काट्नतर्फ लक्षित हुने होइन, ट्राफिक व्यवस्थापनतर्फ हुने हो।’

नजिकिँदै गएका चाडवाडलाई लक्षित गरी बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक पुलिस र्यापिड स्क्वाड टिमको सुरुवात गरेको छ। उपत्यकाको सवारी आवागमनमा सहज बनाउन, सडक दुर्घटना न्यूनिकरण साथै शान्ति सुरक्षामा असर पार्ने घटना र क्रियाकलाप नियन्त्रणका लागि यो कार्यक्रम ल्याएको महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तले बताए।

उपत्यकालाई तीन भागमा विभाजन गरी दश वटा सेक्टरमा ५५ वटा मोटरसाइकलमा प्रहरी परिचालन गरिने छ। काठमाडौँमा ६ वटा भक्तपुरमा २ वटा र ललितपुरमा २ वटा सेक्टर बनाएर प्रत्यक मोटरसाइकलमा १ जना नेपाल प्रहरी र एकजना ट्राफिक प्रहरी परिचालन गरिने प्रमुख पन्तले बताएका छन्।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्