पोखरामा अख्तियारको कार्यालय शिलान्यास गर्दै घिमिरेले भने,

‘संक्रमणकालका नाममा भ्रष्टाचार गर्ने अधिकार कसैलाई छैन’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरे।

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कानुन बन्दै गरेको अहिलेको संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्।

घिमिरेले तीन तहको सरकार बनेसँगै कानुन निर्माणको प्रक्रियामा रहेको र संक्रमणकालिन अवस्था रहेकाले यसको नाजायज फाइदा उठाउने र भ्रष्टाचार गर्ने अधिकार कोही–कसैलाई नभएको बताएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले नेपाल सरकारले दिएको जिम्मेवारीलाई हरेक राष्ट्रसेवकले निशर्त रुपमा पूरा गर्नुपर्ने बताए।

घिमिरेले कर्मचारीतन्त्रले स्थापित कानुनका शर्तहरु पालना गरेर भ्रष्टाचार न्यूनिकरणका लागि सक्रिय हुन आग्रह गरे। कर्मचारीको व्यवहारले आमनागरिकको राज्यप्रतिको धारणा बन्ने भएकाले सार्वजनिक पद धारणा गरेका राष्ट्रसेवकहरुले आफ्नो आचरणलाई ख्याल गर्न सुझाए।

घिमिरेले हरेक क्रियाकलापपछि अख्तियारले नजर लगाइरहेको उल्लेख गर्दै गलत प्रवृत्ति भएको जो कोही अख्तियारको दायराबाट उम्कन नसक्ने बताएका छन्।उनले भने, ‘पहिला शिक्षा क्षेत्रको उजुरी बढी देखिन्थे, अहिले स्थानीय तहका उजुरी बढी आउन थाले, जनतासँग जोडिएकासँग यो अवस्था देखिनु दुखद् हो।’

घिमिरेले भ्रष्टाचार न्यूनिकरणका लागि तीनै तहका सरकारको सजगता जरुरी रहेको धारणा राखे। ‘भ्रष्टाचार निर्मूल गर्छु भन्नु निरर्थक प्रयास मात्र हो, न्यूनिकरणका लागि सञ्चार क्षेत्र र नागरिक समाजको एकीकृत प्रयास खाँचो रहेको जरुरी हुन्छ।’

उनले सेवाको वरिपरि नागरिकलाइ होइन, नागरिकको घरको ढोकामा सेवा पुर्याउनु पर्नेमा जोड दिए। अख्तियारप्रति नागरिकको विश्वास टुट्न नदिने भन्दै अब राष्ट्रिय गौरवका योजनमा पनि आवश्यक परे अख्यियारले अनुगमन गरेर अनुसन्धानको दायामा ल्याउने बताए।

घिमिरेले गत वर्ष अख्तियारबाट १ सय ९८ मुद्दा अदालतमा गएको तीमध्ये १ सय ६ वटा स्ट्रिङ अपरेशन गरेको जानकारी दिए। उनले डरलाग्दो तरिकाले भ्रष्टाचार मौलाइरहेको बताउँदै एउटै कार्यालयबाट १५ जनासम्मको उजुरी पर्नु दुखद भएको बताए।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख काशिराज दाहालले भ्रष्टाचार न्यूनिकरण गर्न सक्रिय रुपमा कार्य गरिरहेको बताए। उनले दुई दिनमा सहन्यायाधिवक्ता पाँच लाख र मालपोत अधिकृत र खरिदार पचास हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको भवन शिलान्यास

पोखरा महानरपालिका वडा नम्बर–७ मासबारमा ६ रोपनी १ दशमलब ३ दामको जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको निर्माणाधिन भवनको शिलान्यास भएको छ।

२ वर्षभित्र भवन निर्माण सम्पन्न भइसक्ने सम्झौता भएको सो भवनको लागत इस्टिमेट भ्याट बाहेक १४ करोड ७२ लाख रहेको छ। साढे दुई तलाको सो भवनमा पहिलो तलामा १५ र दोस्रो तलामा २३ गरी कुल ३८ वटा कोठा रहने छन्।

प्रहरी ब्लक भवनमा थुनुवा तथा कार्यालय कक्षसहित १७ र ब्यारेक तथा अवास ८ वटा गरी कुल २५ बटा कोठा रहने पोखरा कार्यालयका उपसचिव एवं सूचना अधिकृत रमेश ढकालले जानकारी दिए।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्