लागूऔषध ओसारपसारको गिरोह प्रहरी फन्दामा

फेन्सी पसलका सञ्चालक ब्राउनसुगर कारोबारी

ब्राउनसुगरसहित पक्राउ परेका जैसवाल।

नेपालगञ्ज – नेपालगञ्जमा कपडा पसलको आडमा ब्राउनसुगरको ‘डिलर’ नै सञ्चालन गरेको खुलासा भएको छ। न्यूरोडमा रहेको सत्यम् फेन्सी बस्त्रालयका सञ्चालक अरुण जैसवाल ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

ठूलो कपडा पसल सञ्चालन गरेका जैसवालले ब्राउनसुगरको धन्दा गर्ने कुरा प्रहरीलाई विशेष सुराक आएको थियो। प्रहरीले रंगेहात समात्ने मौका कुरेर बसेको स्रोतले बतायो।

ब्राउनसुगरको कारोबार गरिरहेको थाहा पाएपछि बुधबार छापा मारेको प्रहरीले जनाएको छ। दश हजारको ब्राउनसुगर बेच्न ठिक्क परेका जैसवालको पसलमा खानतलासी गर्दा २३ ग्राम चार सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।

बुधबार नै जमुनाहा नाकाबाट प्रहरीले फरक–फरक व्यक्तिबाट सात ग्राम ब्राउनसुगर बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले भारतबाट आएका व्यक्तिलाई खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको हो।

ब्यूरोले चिसापानीका रमेश डाँगी र मनोज विकको साथबाट चार ग्राम तथा कोहलपुरका जंगबहादुर थापाको साथबाट तीन ग्राम ब्राउनसुगर बरामद गरेको छ। रमेश र मनोजसँगै आएका थिए। थापा छुट्टै थिए।

प्रहरीले एकैदिन ३० ग्राम चार सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो। एकैदिन यत्तिका धेरै ब्राउनसुगर बरामद हुनुले नेपालगञ्जमा यसको कारोबारको अवस्था देखाउँछ।

सीमावर्ती भारतीय बजारमा खुल्लमखुल्ला सहजै पाइने ब्राउनसुगर बोकेर नेपाली कारोबारी तथा प्रयोगकर्ताहरु नेपाल प्रवेश गर्ने गर्छन्। प्रहरीले विशेष सुराक पाएपछि मात्रै ब्राउनसुगर बरामद गर्न सक्षम हुने गरेको पाइन्छ।

सूचना नहुँदा त सीमामा दैनिक सयौ व्यक्ति हिँडडुल गर्छन्। उनीहरुलाई जाँच गर्न सम्भव नै हुँदैन। विशेष सूचना र शंका लागेका व्यक्तिलाई प्रहरीले नाकामा रोकेर सोधपुछ र खानतलासी गर्ने गर्छ।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्