उपभोक्तालाई राहत

नेपालगञ्जमा ‘दसैँ सस्तो बजार’ (फोटो फिचर)

दसैँ सस्तो बजार। तस्बिरः कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज – नेपालगञ्जमा ‘दसैँ सस्तो बजार’ लगाइएको छ। नेपालगञ्ज वितरक संघले बागेश्वरी मन्दिरको पूर्वतर्फको पार्कमा दसैँ सस्तो बजार लगाएको हो।

बुधबार आयोजित कार्यक्रममा सस्तो बजारको नेपालगञ्जका मेयर धवलशमशेर राणाले उद्घाटन गरे। सीमावर्ती भारतीय बजारमै किनमेल गर्ने नेपालीले त्यहाँभन्दा सस्तो यही सामान खरीद गरुन् भन्ने उद्देश्यले सस्तो बजार लगाइएको नेपालगञ्ज वितरक संघका अध्यक्ष अमित बस्नेतले बताए।

सस्तो बजारको उद्घाटन गर्दै मेयर राणाले सस्तो बजारले दसैंमा केही राहत दिने बताए। नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालमै किनमेल गर्ने बानी बसाउन र दसैंमा केही सस्तोमा सामान उपलब्ध गराउन सस्तो बजार सञ्चालन गरिएको बताए।
उनले सीमापारी भारतमा किनमेल गर्न जाने नेपाली नै नभएको उद्घोष गरेका छन्।

सस्तो बजारमा नेपालगञ्ज बजारमा भन्दा सबै सामान सस्तो रहेको दावी गरिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वमहासचिव विष्णु लामिछानेका अनुसार सस्तो बजारमा बजारमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको बताए।

व्यापारीहरुका अनुसार, बडीस्प्रेमा १० देखि १५, बिस्कुटमा १५ देखि २०, कस्मेटिकमा ५ देखि १०, डाइपरमा ८ देखि १२, कोकमा २० प्रतिशतसम्म बजारमा भन्दा सस्तोमा राखिएको छ।

खाद्यान्नको सामान पनि बजारमा भन्दा सस्तो रहेको उनीहरुले दावी गरेका छन्। खाद्यान्न, दाल, गेडागुडी भारतीय बजार रुपैडिहामा सस्तो रहेको व्यापारीहरुले बताएका छन्।

यहाँका मानिसमा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने छाप परेको छ। उनीहरु प्रायः रुपैडिहाबाटै सामान खरिद गर्छन्। अहिले दसैंको मुखमा नेपालगञ्ज बजारमा भन्दा रुपैडिहामा कयौं गुणा भीडभाड बढी रहेको छ।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्