सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेता एउटै मञ्चमा

शेखर कोइरालाको चेतावनी, प्रचण्डको ‘भद्र प्रतिवाद’

नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेखर कोइराला। सबै तस्बिरः बर्षा शाह/देश सञ्चार

काठमाडौँ – पछिल्लो समय नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आफैँ पार्टीका सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका छन्।

तर, बुधबार संयोग यस्तो रह्यो कि, नेता कोइराला सत्तारुढ दलका शीर्ष नेताहरुको बिचमा बस्न पुगे। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारी, प्रभावशाली नेता योगेश भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा कांग्रेस नेता कोइराला पनि विशेष आकर्षण थिए।

पाथीभरा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा कोइरालाले प्रचण्डभन्दा पहिले सम्बोधन गरे।

प्रचण्डलाई हेर्दै सभ्य भाषामा सरकारको आलोचना गरेका कोइरालाले ओली सरकार सफल भए लोकतन्त्रमाथि नै खतरा पुग्ने चेतावनी दिए।

‘वर्तमान सरकारसँग जनताले धेरै अपेक्षा गरेका छन्,’ कोइरालाले भने, ‘त्यसैले यो असफल हुन हुनै हुँदैन।’

कोइरालाले सरकारले सुशासन दिनै नसकेको आरोप पनि लगाए। साथै पारदर्शी र लोकतान्त्रिक विधिबाट अघि बढ्न पनि उनले आग्रह गरेका छन्।

कांग्रेस नेता कोइरालापछि कार्यक्रमलाई सम्बोधन गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोइरालाको भनाईको चेतावनीको भद्र प्रतिवाद गर्दै सरकार ५ वर्षसम्म चल्ने दावी गरे।

प्रचण्डले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्ने भन्ने विषयमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको उल्लेख गरे।

‘आज (बुधबार) बिहान मात्रै प्रधानमन्त्री केपी ओलीसँग सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको छ,’ प्रचण्डले भने, ‘जनभावना अनुसार कडा रुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना छ।’

प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराईलाई मन्त्री बनाउने घोषणा पनि प्रचण्ड गरेका छन्। नेकपाका अध्यक्ष केपी ओलीले ताप्लेजुङमा गरेको चुनावी भाषण आफू पनि हेरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘योगेशजीलाई मन्त्री बनाउन भ्याएनौं, एक दिन बचन पूरा हुन्छ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले ताप्लेजुङको सुकेटार विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका थिए।

अशोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्