नवदुर्गा विशेष : अठोट र साधनाबाट आर्जित शक्तिपुञ्‍ज-२

योगमाया नै बनेर लेखेँ ‘योगमाया’

नेपाली समाजको कूरीतिलाई जनस्तरमा आफ्नो कथा, कविता र साहित्‍यको माध्‍यमबाट जनस्तरमा पस्कँदै आएकी छिन् लेखिका निलम कार्की ‘निहारिका’। नारी शक्तिको बोध गराउन, चेतना जागृत गर्न सृजना उनको अस्त्र बनेको छ।

अग्रजले देखाएको बाटोमा पाइला चाल्‍न चुनौती भए पनि उनी त्‍यसलाई पछ्‍याउँदै छिन्। उनी त्‍यसलाई सफलताको रहस्‍य ठान्छिन्। नीलमले लेखन विधालाई सहर्ष स्वीकारे पनि त्‍यो ठूलो चुनौती बन्‍दैछ।

संघर्षका साथ त्‍यसको सामना त्‍यसको सामना गरिरहेकी छिन् उनले। त्‍योसँगसँगै योगमायाका अनुयायीहरुको पारिवारिक पृष्ठभूमि, प्रतिवद्धता योगदान आदिको तथ्याङ्क खोजी गर्न, बटुल्न उनले निक्कै मेहनत गर्नुपर्‍यो।

मौन जीवन, नियतिको खेल, ब्रेन फिभर, हवन, कागजमा दस्तखत, बेली, अर्की आइमाई, चीरहरण र अहिलेको चर्चित उपन्‍यास ‘योगमाया’ मार्फत समाजको संस्कारलाई नजिकबाट नियाल्दै उनले चिरफार गरेकी छिन्। खासगरी ‘योगमाया’मा योगवाणीहरु मार्फत जीवनको सत्‍यतालाई उनले देश सञ्‍चारसँग यसरी प्रस्तुत गरेकी छिन्।

संघर्ष र प्रेरणा


पाल्पाको गोठादी जन्मिएकी निलमको बाल्‍यकाल पहाडमै बित्‍यो।आमा शिक्षिका भएकाले जीवनमा शिक्षाको पहुँचमा उनी रहिन्। तर इतिहासमा चाख बढ्‍दै जाँदा उनको विषय र उनको विषय र अध्‍ययन अन्‍यत्र मोडियो। उनी एक्लिइन् पनि। लेखन पेशमा उनका घर परिवारमा कोही पनि थिएनन्। पेशागत रुपमा सुरुमा आमाकै पेशा पछ्‍याइन्।पछि मिडिया क्षेत्रमा।

उनी त्‍यतिबेला रेडियो नेपालमा ‘साहित्‍य संसार, हाम्रो कला, हाम्रो संस्कृति’मा र नेपाल टेलिभिजनमा स्वास्थ्य जिज्ञासा,टेलिहेल्थ कार्यक्रम प्रस्तोता थिइन्। त्‍यतिबेला उनको भेट जागृति र चेतनाका प्रखर शिक्षक, साहित्यकार दाहाल यज्ञनिधिसँग भयो।

निलमलाई योगमाया उपन्यास लेख्‍न सधैं उत्प्रेरणा जगाउने व्यक्तित्व रहेछन् तिनै साहित्यकार दाहाल यज्ञनिधि। उनी सम्झिन्छिन्, ‘चीरहरण’ उपन्यास विमोचन समारोहमा उहाँले अब तिमीले योगमायाको विषयमा उपन्यास लेख्नुपर्छ भनेर सुझाउनुभयो। मेरो उहाँलाई हृदय देखि नै नमन।मेरो लागि योगमाया जस्तै संघर्षको पाइला अगाडि बढाउन उत्प्रेरक यज्ञनिधि दाहाल नै हुनुहुन्छ।’

योगमाया नारीहरुको लागि इतिहासमै पावरफुल महिलाको रुपमा उदाएकी एक नक्षत्र हुन, निलमको नजरमा। योगमाया लेख्दा ठूलै संघर्ष गर्नु पर्‍यो उनले योगमायालाई बुझ्‍न र सहज रुपमा प्रस्तुत गर्न। उनी भन्छिन्, ‘जब मैले योगमाया लेख्‍न सुरु गरे, मेरा अगाडि धेरै उल्झनहरु आइपरे। इतिहासका कतिपय कठिन गाँठो फुकाउँदै जानु पर्‍यो। म पनि लामो समय योगमाया जस्तै भएर बाँचे मनभित्र हृदयमा।’

योगमायाको लेखनयात्रामा आफूलाई नै योगमाया जस्तै बाँचेको र लेखेको अनुभव सुनाउँछिन् उनी। भन्छिन्, ‘बरु अहिले त शक्ति घट्दै गएको छ। तर योगमाया लेखनको त्‍यो समय थियो जतिबेला म आफूलाई योगमायाको जस्तै बाँचिरहेको महसुस गरिरहेकी थिएँ।त्यसमा सृजना, शक्ति र प्रेरणाको मिश्रण थियो।’ योगमायाबारे आफूले जानेको र त्‍यसपछिका ‘सेकेण्डरी’ डाटामा देखिएका उल्झनहरुलाई फुकाउन अध्‍ययन अनुसन्धानमा विभिन्‍न ठाउँमा गएर सान्दर्भिक र जानकार पात्रहरुलाई भेट्‍दै सत्‍यतथ्‍य खोज गरेको अनुभव सुनाइन्।

‘योगमाया’ले दिएको सफलता


दाहाल यज्ञनिधिको प्रेरणाबाट उत्साहित निलमलाई योगमायाबारे थप खोज अनुसन्धान गर्न र त्‍यो खोजबाट आएको तथ्‍यलाई आख्‍यानको रुपमा पाठकमाझ ल्‍याउन दुई वर्ष लाग्‍यो।

उनी भन्छिन्, ‘योगमाया लेख्दा कति वर्ष लाग्‍यो त्‍यो महत्वपूर्ण कुरा होइन। तर कति समय त्‍यसमा बिताएँ, त्‍यो महत्वपूर्ण कुरा हो। मैले साच्‍चै भन्‍नुपर्दा त्यतिबेला कुनै कुनै दिन १४/१५ घण्टासम्‍म काम गरेकी छु। तर वर्षको हिसाबले छिटो नै लेखे। २ वर्षभित्रै पुस्तक तयार गरेँ।’

दुई वर्षभित्र योगमायालाई मूर्त रुप दिनु नै सफलता मान्छिन् उनी। भन्छिन्, ‘मैले गरेको मेहनत र लगनशीलताले पुस्तक चाँडै आयो। छिट्टै लेखे भन्छु आफैँले पनि। यसले समाजमा ठूलो जनचेताना ल्‍याएमा त्‍यसलाई अपेक्षित सफलता मान्‍ने छन् उनले।

योगमाया लेख्दा या अनुसन्धानका क्रममा भेटिएका व्‍यक्तिहरुले पनि आफूलाई सहजै साथ दिएको उनी बताउँछिन्। उनले त्‍यतिबेला योगमागाबारे अध्‍ययन र अनुसन्धान गरेका तथा उनका अनुयायीहरु र परिवारका सदस्‍यहरुलाई भेटिन्। सबैले सक्दो सहयोग गरे।

अतिरिक्त मेहेनेत


तर उनको लगन र अठोटमा समस्‍याहरु छायाँ जस्तै लागि रहे। तथ्‍याङहरुलाई केलाउँदा निक्कै पापड पेल्नु पर्‍यो।

त्‍यसबारे उनी भन्छिन्, ‘संकलित तथ्‍याङलाई केलाएर जब लेख्‍ने बेला आयो त्‍यै उल्झनहरु तेर्सिए। तिथि-मितिहरुलाई क्रमबद्ध तरिकाले लेख्‍नुपर्ने भयो। घटनाक्रमहरु योगमाया नेपाल फर्किएको देखि लिएर दास प्रथा उन्मुलन, सती-प्रथा उन्मुलन, योगमया काठमाडौंमा आएर चन्द्र शमशेर, जुद्ध शमशेरलाई भेटे। मिति मिल्‍नु र मिलाउनु पर्ने जटिलता पनि थपियो। तर कतिपय घटना र सन्दर्भहरु नमिलेको पनि भेटे।’

त्‍यो चरण उनका लागि निकै कठिन थियो। अरुलाई पनि चुनौतीको रुपमा लिए त्‍यसलाई।ती घटनाहरुलाई मिलाउन भित्तामा घटनाक्रमहरु तथा वंशावलीको शीलशिलाबद्ध चार्ट बनाएर राखेको अनुभव झलझली सम्झिइन्। उनले भनिन्, ‘घटनाक्रमहरुले पछि पाठकलाई उल्झन नहोस भनेर वंशावली चार्ट नै भित्तामा बनाएर राखेकी थिएँ।यसले मलाई ठूलो सहयोग गर्‍यो।’

तीन महिना ब्लड प्रेसरको औषधि खाएँ


योगमाया लेखनको अन्तिम चरणमा आइपुग्दा अर्थात तथ्‍य र तथ्‍याङको मेलमिलाप गराउँदा ब्लड प्रेसरको औषधि सेवन गर्नु पर्‍यो उनले।

पुराना ती दिन सम्झिइदै उनले भनिन्, ‘मलाई त लेखन र विमोचनको अघिल्लो तीन महिनासम्‍म हाइ ब्लड प्रेसर भयो। मैले औषधि पनि चलाए। फागुनमा योगमाया विमोचन भयो। तर चैतसम्‍म मलाई तनावले छोडेन। पछि म अमेरिका फर्केर गएँ। अहिले फर्केर आएपछि नर्मल महसुस गरिरहेकी छु।’

योगमायामा पात्रहरु शत प्रतिशत यथार्थ


उपन्यासको मूल खण्डमा ५५ वटा अध्याय छन्। अन्य ३ खण्ड अझ शक्तिशाली छन्। सुरुवतको खण्डमा पारिजात र वार्वरा निम्री अजिज पदयात्राका क्रममा संखूवासभाको मनोकामनाको कुटीमा एकरात बस्दा मनमायाले गाएको योगमायाको भजनवाट प्रभावित भइ मझुवा बेंसी गएको प्रसँग उनले सुनाइन्।सामाग्री संकलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गनृ पारिजातको सहयोग लिन पुगेकी छिन्। ‘

यसबारे उनी भन्छिन्, ‘ती सबै पात्रहरु कुनै पनि काल्पनिक होइनन्।शत प्रतिशत नै यथार्थ पात्रहरुलाई मैले उपन्यासमा पस्किएकी छु। उनीहरु सबै यथार्थमा आधारित पात्रहरु हुन। जसमा पारिजात र वार्वरा निम्री अजिजले पदयात्राका क्रममा संखुवासभाको मनोकामनाको कुटीमा गएको र सामाग्री सङ्कलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गर्न पारिजातको सहयोग लिन पुगेकी छिन्।घटना सत्‍य हो । मैले कल्पनाको लेप लगाएकी हुँ।’

योगमाया उपन्‍यासको अस्थिपञ्‍जर सम्पूर्ण रुपमा यथार्थ भएको, अस्थिपञ्जरमा पनि मांशपेशी यथार्थकै भरिएको, तर त्‍यो भन्दा बाहिर छालाको तह भने आफ्‍नो कल्पनाको लेपले बेरिएको उनको भनाई छ। उनी भन्छिन्, ‘ पाठकलाई बुझाउन र त्‍यसलाई रवचक तथा पठनीय बनाउन त्‍यसो गरेकी हुँ।’

जीवनले दिने खुशी


योगमायाले परिकल्पना गरेका कुराहरुलाई नजिकबाट नियाले। नारीले शिक्षा पाउनु पर्छ , वेद पढ्‍न पाउनुपर्छ भन्‍ने त्‍यतिबेला उनले उठाएका कुराहरु बुझ्‍न र देख्‍न पाउँदा साँच्‍चै खुसी लाग्‍यो। उनी भन्छिन्, ‘ योगमाया साच्‍चै नारीहरुको लागि मोक्ष प्रदायिका मात्र होइनन्, उनले गरेका संकल्पहरुले आज नारी चेतना, सामाजिक मुक्ति, यसका प्रयोग र प्रयासहरु सफल हुँदै गएका छन्।

आज शहरका महिलाहरु शिक्षित भइ करीब करीब समान अवसरहरु पाइरहेका छन्। चिन्तन र चेतनाको स्तर केही बढेको छ।यही कारण मलाई जीवनमा सबैभन्दा धेरै सुखी भए जस्तो लाग्छ।’

आजका पुस्ताले बुझ्‍नै पर्ने


नारी माथि गाउँमा केही अझै चेतना छर्न बाँकी रहेको निलमको तर्क छ। उनी भन्छिन्, ‘नारीमाथि गाउँमा र शहरमा गरिने व्‍यवहार र प्रवृतिमा पृथकता छ। उनीहरु अहिले पनि शोषण र दमनको सिकार भइरहनु परेको छ। रुप फेरिएको छ, तर शोषण र दमनको यथार्थता कायमै छ।’ चाडपर्वमा नारीहरु पुजिने तर दिनदिनै नारीहरु बलात्कृत हुनु पर्ने बाध्‍यता छ। यो प्रवृति अझै पनि समाजमा कायमै छ।’

नारी पूजाको होइन समानता र सम्‍मानित हुन्छन्। उनी भन्छिन्, ‘ सम्‍मान सबैले पाउनुपर्छ। तर नारीको हैसियतले सम्‍मान पाउनुपर्छ। नारीलाई पूजा गरेर खोपीको देवता बनाउँदैमा नारी माथिको अत्याचार समाप्त हुँदैन।’ संस्कार र संस्कृतिलाई एकै पटक मेटिदैन। त्‍यसलाई समाप्त गर्न उचित प्रयास र धैर्यता चाहिन्छ।

उनी भन्छिन् ,’ हामीले लेखेको कुरा टिपेक्सले मेटाए जस्तै सजिलो हुँदैन। कु-संस्कार र कु-संस्कृतिलाई मेट्‍न। समयको खाँचो पर्छ। कागजमा दाग लगाएर लेखिएको कुरा मेटे जस्तै।’

अन्तिममा,समाजका कुण्ठा र प्रवृतिहरुलाई योगमाया मार्फत प्रस्तुत गरिएको योगवाणीलाई नयाँ पुस्ताप्रति लक्षित गर्दै भन्छिन्,


 

कर्कलो र निगुरो सिस्नुहरुका मुन्टा

दु:खीले खानु सुत्‍नु आनन्दीका गुन्टा 

महाजनका चित्त पोल्दै ल्याउँछ

मनमा सन्तोष नहुनाे गुन्टा  बिझाउँछ

‍‍……..

धर्म सम्झी विचार गरी इन्साफ गरेन

पैसा भए बरेहालाई दण्ड परेन

…..

त्राही त्राही पार्‍यो  प्रभू झुटा कर्मैले

सारा लोकमा छाड्‍यो प्रभू सच्चा धर्मैले

………

बेला बखत् भने सबको अयो होला बित्तै

सम्पतति ता याँहि बस्छ बस्‍छ जानुपर्छ रित्तै

……

सबै चिज पग्गलने सबै याँही बिल्छ

ठूला भाग्य सतसंगतले आनन्दी पद् मिल्छ

चटक् जस्ता सन्सारमा स्वप्‍ना  जस्ता खेल्छ

प्राणीहरुका  हृदयमा तृष्णाको भेल छ।

 

(योगमायाका लागि निलम कार्की निहारिकाले बिहीबार मदन पुरस्कार ग्रहण गरेकी छिन् ।)

तस्बिर तथा भिडियो : प्रभात खनाल/देश सञ्चार

अशोज २५, २०७५ मा प्रकाशित